युरोकप विजेता इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौं- युरोकप २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ।

प्लेअफ अन्तर्गत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग १–० ले स्तब्धपराजित हुँदै इटाली विश्वकपमा छनोट हुन असफल भएको हो। घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै निर्णायक बन्यो।

इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि फिनिसिङमा चुक्दा विश्वकपको छनोटबाटै बाहिरिन पुग्यो। इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो। यसअघि इटाली २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो।

८ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इंग्ल्याण्डलाई उसैको घरेलु मैदान वेम्बलीमा हराउँदै युरोकपको उपाधि जितेको थियो। विश्वकप छनोटमा इटाली घरेलु मैदानमा ५९ खेलसम्म अपराजित रहेको थियो। जसमा ४८ जित र ११ बराबरी रहेको थियो। 

अब नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान पक्का गर्न प्लेअफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ। पोर्चुगलले बिहीबार राति नै टर्कीलाई ३–१ ले पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ।

पोर्टोेमा बिहीबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलको जितमा ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरे। टर्कीका बुराक यिल्माजले एक गोल फर्काए।

खेलको १५औं मिनेटमा ओटाभियोको गोलबाट पोर्चुगलले सुरुआती अग्रता लिएको थियो। यस्तै, ४२औं मिनेटमा जोटाले ओटाभियोकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे।

६५औं मिनेटमा बुराक यिल्माजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। उनले सेन्गुइज अन्डरको पासमा गोल गरेका थिए।  ८५औं मिनेटमा बुराक पेनाल्टीमा चुक्दा टर्की बराबरीबाट चुक्यो।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा म्याथिएस लुइजले राफयल लियोको पासमा गोल गर्दै ३–१ को जित पक्का गर्दै टोलीलाई विश्वकप छनोट अन्तर्गतको प्लेअफको फाइनलमा पुर्‍याए।

प्रतिक्रिया