करिब १४ वर्षपछि थाइल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (बिहीबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरीमा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ। दुवै टोलीले एएफसी एसिया कप २०२३ को तेस्रो चरणको तयारीका लागि  मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

थाइल्यान्डविरुद्धको खेलमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा खेलाडीलाई अवसर दिन सक्नेछन्। एएफसी कप खेल्ने तयारीमा रहेका कारण मछिन्द्र फुटबल क्लबले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेका कारण क्लबका आधा दर्जनभन्दा बढि खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिएका छन्।

स्ट्राइकर विमल घर्तिमगर, मनिष डांगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई, देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाललगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन्। सोही कारण पनि यसपटक युवा खेलाडीले अवसर पाउनेछ।

अल्मुताइरीले उनीहरुको अनुपस्थितीमा प्रशान्त अवस्थी, सुदीप गुरुङ, आकाश बुढामगर, नविन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मौका दिनेछन्। थाइल्यान्ड प्रस्थान गर्नुअघि उनले युवा टोलीबाट सकारात्मक नतिजाको आशा गरेको र सोही अनुसार रणनीति बनाएर खेल्ने बताएका थिए।

‘एएफसी कपका कारण मछिन्द्रका खेलाडी टोलीमा नहुँदा हामी नयाँ रणनीतिमा हुनेछौं। टोलीमा नयाँ खेलाडीहरू थपिएका छन्। यो हाम्रो तयारीको उत्कृष्ट पक्ष हो। जित र हार त खेलको पाटो नै हो,’ उनले भनेका थिए।

यसअघि नेपालले थाइल्यान्डसँग तीन खेल खेलेको छ। तीनै खेलमा नेपाल पराजित भएको छ। सन् १९८२ मा किङ्स कपमा पहिलोपटक प्रतिश्पर्धा गर्दा नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो। त्यसपछि सन् १९९८ मा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली २–० ले पराजित भएको थियो। अन्तिम पटक सन् २००८ मा खेल्दा ७–० को फराकिलो गोल अन्तरले हारेको थियो।

करिब १४ वर्षपछि थाइल्यान्डविरुद्धको खेलमा ‘टचलाइन’मा उभिरहँदा प्रशिक्षक अल्मुताइरीसँग घरेलु मैदानबाहिर नेपाली राष्ट्रिय टोलीलाई मैत्रीपूर्ण खेलमा पहिलो जित दिलाउने लक्ष्य पनि हुनुपर्ने छ। थाइल्यान्ड नेपालभन्दा बलियो टोली भएकाले उनलाई त्यो लक्ष्य भेट्न सहज भने छैन।

हाल थाइल्यान्ड फिफा वरियताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ। थाइल्यान्डसँगको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। 

यससँगै अल्मुताइरीले नेपाली टोलीका लागि १५औं खेल खेलाउँदै छन्। अहिलेसम्म खेलेका १४ खेलमा पाँच जितमात्र हासिल गरेका छन्। यद्यपि, नेपालले वरीयतामा माथि भएका देशसँग खेलेको छ। नेपालले प्रायः खेलमा गोल भने गरेको छ। 

यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो।

नेपाली टोलीमा किरण चेम्जोङ (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द छन्।

प्रतिक्रिया