आईपीएल : मुम्बईलाई घरेलु मैदानमा खेल्दा पनि चुनौती

काठमाडौं– पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सिजनमा १४ मध्ये ११ खेल मुम्बईका तीन स्थानमा खेल्ने तालिका छ। तर, कप्तान रोहित शर्मा र प्रशिक्षक महेला जयवर्द्धनाले आफ्नो टोलीलाई घरमै खेल्नको लागि चुनौतीपूर्ण हुने बताएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै रोहितले भने, ‘यो नयाँ खेलाडीसहितको नयाँ टोली हो। ७० देखि ८० प्रतिशत खेलाडी पहिलो पटक मुम्बईमा खेल्न लागेका छन्। मलगायत सूर्या (सूर्यकुमार यादव), (किरोन) पोलार्ड, इशान (किशन) र (जसप्रीत) बुमराहसँग यहाँ खेल्ने अनुभव छ। त्यसैले थप फाइदाको कुरा छैन। हामी सबै दुई वर्षपछि मुम्बईमा खेलिरहेका छौं। गत सिजन हेर्दा अन्य टोलीले खेल्ने मौका पाएका थियौं।’

जयवर्धनले रोहितको कुरालाई समर्थन गर्दै भने,‘मलाई याद छैन हामीले अन्तिम पटक मुम्बईमा कहिले खेलेका थियौं। यो सायद दुई, साढे दुई वा तीन वर्ष अघिको हो। गत सिजन यहाँ अन्य धेरै टोलीहरू खेलेका थिए। साथै गत वर्ष हामीसँग भएका खेलाडीहरू अब अन्य टोलीको हिस्सा भएका छन्, त्यसैले उनीहरूलाई फाइदा हुनेछ।’

यदि श्रीलंकाली लेजेन्डलाई विश्वास गर्ने हो भने पिच सबैको लागि समान हुनेछ र टोलीले सबै विभागहरूमा सही तरिकाले प्रदर्शन गर्नुपर्नेछ। मुम्बईका तीनै मैदानहरू– वानखेडे स्टेडियम, ब्रेबोर्न स्टेडियम र डीवाई पाटिल स्टेडियममा रातो माटो प्रयोग गरिन्छ। पुणेको एमसीए स्टेडियममा कालो माटो प्रयोग गरिँदै आएको छ। ‘हामीले यसलाई तटस्थ प्रतियोगिताको रूपमा हेर्नुपर्छ। हाम्रो लक्ष्य हामीले सकेसम्म राम्रो क्रिकेट खेल्ने र प्लेअफमा पुग्ने हुनुपर्छ,’ जयवर्धनले भने।

रोहित र जयवर्धन दुवैलाई थाहा छ कि नयाँ सिजन नयाँ टोलीबाट सुरु गर्नु चुनौतीपूर्ण हुनेछ।  सबैलाई स्पष्ट भूमिका दिनु सबैभन्दा गाह्रो काम हुने रोहितको तर्क छ।  ‘(तिमल) मिल्स, (जयदेव) उनाडकट र अन्य यो टोलीमा नयाँ खेलाडी हुन्। तर, उनीहरू धेरै वर्षदेखि खेल्दै आएका छन्,’ रोहितले भने, ‘उनलाई थाहा छ के अपेक्षा गरिएको छ।’

जयवर्धनेले यस सिजनलाई २०१८ को सिजनसँग तुलना गरे, जब मेगा अक्सनपछि मुम्बईले नयाँ टोली बनाउनुपर्‍यो। ‘त्यसपछि हामीसँग बुमराह थियो र हामीले नयाँ बलिङ लाइनअप निर्माण गर्नुपर्‍यो। यसले हाम्रो तयारीलाई परिवर्तन गर्दैन। अब हाम्रा नयाँ बलरहरूमा फरक विशेषताहरू हुनेछन् र हामीले विभिन्न परिस्थिति र विपक्षीविरुद्ध खेल्नुपर्छ,’ उनले भने।

यस पटकको मेगा अक्सनमा मुम्बईले रोचक रणनीति अपनाउँदै पहिलो दिन कीर्तिमानी रकम खर्चेर ईशान किशनलाई किनेको थियो भने दोस्रो दिन यो सिजनका लागि अनुपलब्ध रहेका जोफ्रा आर्चरलाई आठ करोड खर्च गरेको थियो। 

रोहितका अनुसार यस पटकको मेगा अक्सन उनको टोलीका लागि धेरै कठिन थियो। जसमा उनले पाण्ड्या भाइहरू (हार्दिक र कृणाल) लाई छोड्नु परेको थियो, जो धेरै वर्षदेखि उनका मुख्य खेलाडी थिए।

रोहितले गुजरात टाइटन्सका वर्तमान कप्तान हार्दिकलाई गुमाउन गाह्रो भएको स्वीकार गरे, तर रिटेनन्सको नियमले टोलीलाई अन्योलमा पारेको थियो। उनले भने, ‘हार्दिक हाम्रो एक महत्वपूर्ण सदस्य थिए। तर, नियमहरूले हामीलाई सबै खेलाडीहरूलाई राख्न अनुमति दिँदैन। यस फ्रेन्चाइजमा उनको योगदानलाई कहिल्यै बेवास्ता गरिने छैन। उनले सधैं आफ्नो भूमिका राम्रोसँग निभाएका छन्।’

प्रतिक्रिया