आईपीएल : भारतीय टोलीलाई एक अलराउन्डर र भावी कप्तान खोज्ने माध्यम

काठमाडौं– पछिल्लो विश्वकपमा अन्तिम चारको स्थान गुमाएपछि भारतीय टी–२० क्रिकेट टोली चर्चाको विषय बनेको छ। १० महिनाभित्र अर्को विश्वकप हुने भएकाले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को समयमा टिम व्यवस्थापनले अलराउन्डर खेलबाट टोलीलाई स्थिरता दिन सक्ने खेलाडीको खोजी गर्नेछ।

भारतका पूर्व मुख्य प्रशिक्षक रवि शास्त्री टोली अझै प्रमुख अलराउन्डरको खोजीमा रहेको बताउँछन्।  शास्त्रीले भने, ‘मलाई लाग्छ टोलीले छैठौं नम्बरमा अलराउन्डरको खोजी गर्नेछ। र, शीर्ष पाँचमा ब्याटिङका साथै दुई वा तीन ओभर बलिङ गरेर कप्तानको दबाब हटाउन सक्ने खेलाडी खोजी गर्ने छ।’

पछिल्लो समय भारतीय टोलीमा यस्तै खेलाडी थिए, हार्दिक पाण्ड्या। ढाडको चोटअघि हार्दिकले यो भूमिका राम्रोसँग निभाउँदै आएका थिए। तर, चोट लागेपछि उनको प्रदर्शन निक्कै खस्किएको छ।

विशेषगरी उनको बलिङ पहिलाको जस्तै लोभलाग्दो रहन सकेको छैन। त्यसको बावजुद उनको प्रतिभालाई ध्यानमा राख्दै आईपीएलको नयाँ फ्रेन्चाइजी टोली गुजरात टाइटन्सले कप्तानको जिम्मेवारी दिएको छ। भारतीय टोलीमा धेरै पावर हिटरहरू छन्। त्यसकारण, अब हार्दिकले ब्याट्सम्यानको रूपमा यो टोलीमा स्थान पाउन नसक्ने शास्त्रीको तर्क छ। त्यसैले यस आईपीएलमा हार्दिकले सुधारिएको प्रदर्शन गर्नुपर्ने बताउँछन् शास्त्री।

शास्त्री भन्छन्,‘शीर्ष पाँच खेलाडीमा ठूला शटहरू प्रहार गर्ने शक्ति हुन्छ। जसका कारण ६ र ७ नम्बरका खेलाडीले एकभन्दा बढी डिपार्टमेन्टमा योगदान दिनुपर्ने हुन्छ। त्यसैले, गुजरातले हार्दिकलाई दुई/तीन ओभर बलिङ दिराख्नु राम्रो हुन्छ। अलिकति पनि सफलता पाए भने भारतीय टोलीमा उनको स्थान लगभग पक्का भइहाल्छ।’

शास्त्रीका अनुसार भारतीय टोलीको कप्तानको उत्तराधिकारी को हुने हो भन्ने कुरा पनि यसै आईपीएलबाट थाहा हुनेछ ।

उनले भने,‘रोहित र विराट अब युवा अवस्थामा छैनन्। टोली व्यवस्थापनले दुई वा तीन वर्षपछि कसले कप्तानी भूमिका निर्वाह गर्ने भनेर हेर्नुपर्छ। मेरो ध्यान त्यसमा हुनेछ। म ऋषभ पन्त (दिल्ली क्यापिटल्स) र श्रेयस अय्यर (कोलकाता नाइट राइडर्स)लाई हेरिरहेको छु। र, म उनीहरुलाई नजिकबाट नजर राख्नेछु। यसबाहेक, म केएल राहुलको टीम ह्यान्डल गर्ने तरिका र हार्दिकको मानसिकतामा पनि नजर राख्नेछु।’

प्रतिक्रिया