कतारको रंगशालाको तापक्रम २२ डिग्री हुने

कतार, एजेन्सी। विश्वमा सर्वाधिक गर्मी हुने देशमध्ये कतार पनि एक हो। यो देशमा २२ डिग्री तापक्रममा के तपाई फुटबलको मज्जा लिन चाहनुहुन्छ ? कतारको विषयमा जानकारी राख्ने जो कोहीको लागि यो कुरा अपत्यारिलो लाग्न सक्ला। तर, यो सत्य हो।

कतारले २१ नोभेम्बरदेखि सुरु हुने फिफा विश्व कपलाई यादगार बनाउन रंगशालाको तापक्रम २२ डिग्री बनाउने भएको छ। १८ डिसेम्बरसम्म सञ्चालन हुने विश्व कपका लागि यो देशले सबै रंगशालाको निर्माण कार्य सम्पन्न गरिसकेको छ। अब उसले विदेशबाट आउने दर्शकलाई कुनै प्रकारको समस्या नहोस् भन्नका लागि रंगशालाभित्रै एसी जडान गर्ने कार्यलाई सम्पन्न पनि गरिसकेको छ।

अत्यधिक गर्मी हुने कारण कतारलाई विश्व कप फुटबल आयोजनाको जिम्मा दिँदा फिफाको तत्कालीन नेतृत्वको आलोचना भएको थियो। तर, अहिले कतारले फुटबल आयोजना हुने ८ वटा रंगशालालाई पूर्ण रूपमा एसीयुक्त बनाएको छ। यसका लागि सरकारले लाखौं डलर खर्च गरेको छ।

कतार खुला रंगशालालाई पुरै वातानुकुलित बनाउने विश्वको पहिलो देश पनि हो। यी सबै योजनाको डिजाइनर ‘डा. कूल’ को उपनामले चर्चित मेकानिकल इन्जिनियर डा. सउद गनी हुन्। उनी रंगशाला बाहिरको तापक्रम ५२ डिग्री भएपनि भित्र २२ डिग्री हुने बताउँछन्। 

प्रतिक्रिया