प्रधानमन्त्रीद्वारा नयाँ खिम्ती सबस्टेसनको उद्घाटनका साथै माथिल्लो तामाकोसी भ्रमण 

शव्द/तस्विरः शम्भु गौतम
गोँगर (दोलखा) चैत ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०-१३२ के.भी. सवस्टेशन शनिबार उद्घाटन गरेका छन् । 

यसैगरी आजै प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युतगृहको निरीक्षण पनि गरेका छन् । निरीक्षणपछि आयोजित समारोहमा उनले आयोजनालाई उल्लेखनीय सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्र पनि प्रदान गरेका छन् । 

05

सो क्रममा उनले जलविद्युतको विकास गरेर जीवांश इन्धनलाई विस्थापित गर्नुपर्ने बताए । उनले भने, ‘जलविद्युत विकासको लागि झोलामा खोला राख्ने वा बेच्नेलाई निरुत्साहित गरी काम गर्नेलाई प्राथमिकता दिनुपर्छ ।’

सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्र्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन हो । 

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ । 

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० के. भी.  डवल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेसन जोडिएको छ । माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथो र २४.२ मेगावाट क्षमताको लिखू खोला ’ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ । 

त्यस्तै, नयाँ खिम्ती सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००÷२२०÷१३२ केभी सबस्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ । 

01

नयाँ खिम्ती सबस्टेसनबाट ४६ कि.मि. लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ के.भी. सबस्टेसन हुँदै काठमाडौँ उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ ।

नयाँ खिम्ती सबस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर बे रहेका छन् । साथै, सबस्टेसनमा २२०÷१३२ के.भी., ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सबस्टेसनमा हाल करिब ५५ रोपनीमा २२०÷१३२ केभी नयाँ खिम्ती सबस्टेसन निर्माण भएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले अनेकौँ कठिनाइ बेहोर्दै  माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए । घिसिङले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट, र दक्षता प्राप्त भएको उल्लेख गरे । दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई ठुलो मद्दत पु¥याइरहको छ । 

वार्षिक २ अर्ब २८ करोड युनिट  विद्युत उत्पादन हुने आयोजनाले दोस्रो चरणमा २० मेगावाटको  रोल्वालिङ खोला निर्माण गर्दै छ । रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुख्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत ऊर्जा थप हुनेछ । 

उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रति युनिट औसत ४.०६ रुपैयाँ विद्युत खरीद बिक्री दर रहेको छ । यसबाट  आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनुको साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा गरिएको छ । 

माथिल्लो तामाकोसीको सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङले उल्लेख गरे । उनले भने, ‘पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको खरिद दर यस हिउँदमा नेपाली ३२ रूपैयाँ  प्रति युनिटसम्म पुगेको अवस्थामा  तामाकोशीको विद्युत खरिद दर यो वर्ष अधिकतम नेपाली रूपैयाँ ६.९६ मात्र रहेकोले देशको ठूलो धनराशी विदेश जानबाट रोकिएको छ ।’
 

03

DJI_0129

प्रतिक्रिया