प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको अध्यक्ष श्रेष्ठको आरोप

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरुलाई फैसला उपलब्ध गराउन आग्रह गरेका छन् ।

बुधबार नेपाल बार एसोसिएसन परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई फैसला बारलाई उपलब्ध गराउन आव्हान गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पति विवरण संकलन गरिने र छानविन हुने उनले बताए ।

उनले भने, ‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरु नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आव्हान गरेको छ । तपाई साथीहरु ज–जसलाई यिनले अन्याय पारेका छन्, न्याय किनबेच गरेका छन्, ति फैसलाहरु नेपाल बार एसोसिएसनमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाए । जबराको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उनले बारको आन्दोलनविरुद्ध नलाग्न चेतावनी दिए । उनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताए ।
 

प्रतिक्रिया