राजीव गान्धीका ‘हत्यारा’ पेरारिवलन ३० वर्षपछि जेल मुक्त


नयाँ दिल्ली, एजेन्सी : भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको मुद्धामा आजीवन जेल सजाय भोगिरहेका एजी पेरारिवलन जेल मुक्त भएका छन्। भारतको सर्वोच्च अदालतले लामो समयदेखि जेलमा रहेका पेरारिवलनलाई बुधबार रिहा गर्न आदेश दिएको छ। 

राजीवको हत्या २१ मे, १९९१ म तमिलनाडुको श्रीपेरुम्बदुरको चुनावी सभामा भएको थियो। चुनावी सभामा धनु नाम गरेकी एक महिलाले आत्मघाती बिस्फोट गर्दा राजीवको निधन भएको थियो। 

राजीवको हत्या योजनाबद्ध रूपमा भएको भन्दै यसमा संलग्न पेरारिवलनलाई आजीवन जेल सजाय तोकिएको थियो। उनी विगत ३० वर्षदेखि जेल सजाय भोगिरहेका थिए। जेलमा हुँदा उनको चालचलन राम्रो भएको र पेरोलमा बाहिर आउँदा पनि उनले कानुनी निर्णयको उल्लंघन नगरेको भन्दै न्यायाधीस एल नागेश्वर राव र बीआर गवईको संयुक्त इजलासले रिहा गर्ने आदेश दिएको हो। 

पेरारिवलनले रिहाईका लागि धेरै अगाडिदेखि अदालतसमक्ष निवेदन दिएका थिए। जेल मुक्त हुन लागेका पेरारिवलनको उमेर ५० को हाराहारीमा छ। राजीवको हत्या प्रकरणमा धनुसहित १४ जनाको ज्यान गएको थियो। 
यसअघि अदालतले मे १९९९ मा ४ अभियुक्त पेरारिवलन, मुरुगन, सन्थन र नलिनीको मृत्युको सजायलाई यथावत राखेको थियो। सर्वोच्च अदालतले १८ फेब्रुअरी २०१४ मा पेरारिवलन, सन्थन र मुरुगनको मृत्यु दण्डको सजायलाई हटाएर आजीवन जेल सजायमा परिणत गरेको थियो। उनीहरूलाई कार्यवाही गर्ने सम्बन्धमा केन्द्र सरकारले ११ वर्ष ढिलाई गरेको भन्दै अदालतले फाँसीको सजायलाई आजीवन जेलमा रुपान्तरण गरेको थियो। यसअघि उनीहरूले क्षमादान मागेका थिए। 

पेरारिवलन हाल पेरोलमा बाहिर छन्। उनी १९ वर्षको उमेरमा जेल परेका थिए। उनको स्वास्थ्य अवस्था नाजुक छ। उनले २०१६ मा तमिलनाडुको राज्यपालसमक्ष क्षमादान मागेका थिए। सन् २०१८ मा तमिलनाडुको मन्त्री परिषद्ले हत्याका सात अभियुक्तलाई छोड्ने निर्णय गरेको थियो। तर, अदालतले क्याबिनेट निर्णयमा प्रश्न उठाएपछि क्षमादानको लागि राष्ट्रपतिसमक्ष सबै कागज पठाइएको थियो। 





प्रतिक्रिया