के युक्रेनमा अमेरिकाले ‘जैविक हतियार’ निर्माण गरिरहेको थियो? 

मस्को, एजेन्सी। रुस–युक्रेन युद्धमा आफ्नो भूमिकालाई लिएर शक्ति राष्ट्र अमेरिका एकपल्ट फेरि विवादमा तानिएको छ। 

पछिल्लो समय अमेरिका विवादमा परेको विषय हो, युक्रेनमा उसले सञ्चालन गरिरहेको जैविक प्रयोगशाला। अमेरिकाले यसअघि कोरोना संक्रमण र युक्रेन युद्धमा रुसको समर्थनलाई लिएर चीनको कडा आलोचना गरेको थियो। तर, जैविक प्रयोगशालाको मुद्धा बाहिरिएपछि अमेरिकाविरूद्ध चीनले पनि मोर्चा खोलेको छ। 
 
रुसी प्रशासनले हालै युक्रेनभित्र अमेरिकाले गोप्य रूपमा जैविक हतियार निर्माण कार्यलाई अगाडि बढाइरहेको खुलासा गरेको थियो। मस्कोको दावी पछि युक्रेनमा अमेरिकी भूमिकालाई लिएर पुनः विवाद सुरु भएको हो। भ्लादिमिर पुटिन प्रशासनले जैविक हतियार निर्माणका लागि अमेरिकाले युक्रेनमा थुप्रै ल्याब निर्माण गरेको आरोप पनि लगाएको छ। 

मस्कोको यो आरोपको अमेरिकाले कडा रूपमा प्रतिवाद गर्न सकेको छैन।

अझ, अमेरिकी विदेश मन्त्रालयका सहायक सचिव भिक्टोरिया नुल्याण्डले मस्कोको आरोपलाई बल पुग्ने गरी वासिङ्टनले युक्रेनसँग मिलेर जैविक शोध केन्द्र निर्माण गरेको पुष्टी गरेका छन्। उनले रुसको हाथमा यी जैविक केन्द्रहरू पर्न नदिन युक्रेनसँग मिलेर काम गरिरहेको बताएका छन्।

नुल्याण्डको भनाई बाहिरिएपछि चीनले अमेरिकासँग स्पष्ट जवाफ माग गरेको छ।

अमेरिकाका लागि रुसी राजदूत अनातोली अन्टोनोभले यस विषयमा चिन्ता व्यक्त गर्दै भने, ‘विदेश विभाग (अमेरिका) का एक प्रतिनिधिको बयानले स्पष्ट संकेत गरेको छ– अमेरिकालाई डर छ, जैविक ल्याब रुसी विशेषज्ञको हातमा पर्ने हो कि भनेर। यसले युक्रेन र अमेरिकाले ‘जैविक निषेध कन्भेन्सन’ को नियम उल्लंघन गरेको र ‘टक्सिन वेपन्स’ निर्माण गरिरहेको पुष्टी हुन जान्छ।’

usa1

रुसी दावी अनुसार युक्रेनमा अमेरिकाले ३० भन्दा बढी जैविक प्रयोगशाला सञ्चालनमा ल्याएको छ। राजदूत आन्टोनोभ भन्छन्, ‘युक्रेनको ल्याबमा विशेष रुपले प्लेग, एन्थ्रेक्स, टुलारेमिया, हैजा र अन्य घातक रोगको परीक्षणको नाममा जैविक हतियार निर्माण भइरहेको छ।’

रुसले यसअघि पनि भनेको थियो, जैविक कार्यक्रमअन्तर्गत लिविवि, खारकोभ र पोल्टावामा ३० भन्दा बढी प्रयोगशालामा खतरनाक संक्रमक एजेन्टसँग मिलेर अमेरिकी नेतृत्वदायी सैन्य टुकडीले काम गरिरहेको छ।

समाचार सार्वजनिक भएपछि चीनको विदेश मन्त्रालय विज्ञप्ति सार्वजनिक गर्दै युक्रेनमा पेन्टागनले चलाइरहेको ‘बायोलोजिकल ल्याब’ को विषयमा तुरुन्त जानकारी माग गरेको छ। यसअघि सोमबार रुसी सेनाले बताएको थियो, अहिले युक्रेनी अधिकारीहरू यी प्रयोगशालामा अध्ययन–अनुसन्धान भएका कागजहरू हतार–हतार नस्ट गरिरहेका छन्। तर, युक्रेनले भने आफ्नो देशमा जैविक हतियार निर्माण भइरहेको रुसी दावीको खण्डन गरेको छ।

किभस्थित अमेरिकी दूतावासको वेभसाइटमा पनि अमेरिकाले युक्रेनमा जैविक हतियार निर्माण कार्यलाई अगाडि नबढाएको स्पष्ट पार्न खाजेको छ। वेभसाइटमा अमेरिकी रक्षा विभागअन्तर्गत ‘जैविक खतरा न्युनिकरण कार्यक्रम’ मा मात्र सहभागी भएको बताइएको छ। यो कार्यक्रमअन्तर्गत अमेरिकाले सहभागी देशसँग मिलेर जैविक खतरा उन्मूलनका लागि काम गर्ने गरेको छ। 

मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनको दावी थियो, युक्रेनमा अमेरिकाले सञ्चालन गरेको प्रयोगशालाको विषयमा थुप्रै जानकारी चीनले प्राप्त गरेको छ। उनले भनेका छन्– जुन संख्यामा युक्रेनमा अमेरिकाले जैविक हतियारका लागि ल्याब प्रयोग गरेको बताइएको छ, त्यो संख्या हाल देखाइएभन्दा बढी छ।

अमेरिकी रक्षा विभागले विश्वको ३० देशमा ३ सय ३६ जैविक ल्याबलाई नियन्त्रित गर्छ। झाओले नियन्त्रणको नाममा अमेरिकाले बदमासी गरिरहेको आरोप पनि लगाए। चीनले पहिलो पल्ट निश्चित तथ्यांक सार्वजनिक गरेर अमेरिकालाई घेर्न खोजेको हो। झाओ भन्छन्, ‘अमेरिकद्वारा जारी तथ्यांकमै युक्रेनमा २६ अमेरिकी प्रयोगशाला सञ्चालनमा छन्।’ उनले सम्बन्धित पक्षले प्रयोगशालाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। 


 

प्रतिक्रिया