जनमत

 स्थानीय निर्वाचन र गठबन्धनको लगनगाँठो

काठमाडौं । आगामी स्थानीय निर्वाचनमा अरु दलसँग सहकार्य गर्ने कि एक्लै मत माग्न जाने भन्ने बिषयमा नेपाली कांग्रेसभित्र बिचार मन्थन सुरु भएको छ । गुटबन्दी गरेको छनक नमिल्ने गरी नेताहरु आआफ्नो पक्षमा जनमत बनाउन सक्रिय छन् । सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनका सहयात्री दललाई सँगै राखेर निर्वाचनमा सहभागी हुने योजनामा छन् । नेता डाक्टर शेखर कोइराला भने नेपाली कांग्रेसले एक्लै निर्वाचनमा भाग लिनुपर्ने अडानमा छन् । 

पार्टी महाधिवेशनको तुस मनमा नराखी नेपाली कांग्रेस एक भएर निर्वाचनमा जानुपर्ने नेता कोइराला र उनको टिमका अरु नेताहरुको मत छ । सत्ता गठबन्धन र निर्वाचन फरक बिषय भएकाले यसलाई वाध्यात्मक आवश्यकता जसरी बुझ्न नहुने उनीहरुको तर्क छ । 

नेता कोइरालाले शनिबार गृहनगर बिराटनगरमा आयोजित सभामा यस्तै धारणा सुनाएका थिए । उनले आगामी स्थानीय निर्वाचनमा अरु दलसँग सहकार्य गर्न नहुने बिचार नै दोहोर्याए । सत्ता गठबन्धन र निर्वाचन एउटै बिषय नभएको भन्दै कोइरालाले नेपाली कांग्रेस एक्लै आफ्नो कार्यक्रम लिएर मतदाता सामु जानुपर्नेमा  जोड दिए । 

नेपाली कांग्रेसका अर्का नेता डाक्टर मिनेन्द्र रिजाल स्थानीय निर्वाचनमा अरु दलसँग तालमेल गर्ने कुरामा सहमत देखिँदैनन् । ‘महाधिवेशनको हारजितको बिषय बिर्सेर कांग्रेस एकतावध्द भएर मतदातासामु जानुपर्छ । सत्ता गठबन्धन र निर्वाचन फरक बिषय हुन् । पार्टीभित्रको कुनैपनि मतभेद बिर्सेर हामी मिलेर अघि बढ्ने हो, चुनावी तालमेल जरुरी छैन’ नेता रिजालले दृश्य टिभीसँग बताए । 

बिराटनगरको सभामा उपसभापति धनराज गुरुङ्ग र महामन्त्री गगन थापाले पनि चुनावी तालमेलको विपक्षमै मत राखेका थिए । महामन्त्री थापाले स्थानीय निर्वाचनको मिति टुंगो लागेदेखि नै नेपाली कांग्रेसले कसैसँग तालमेल गर्न नहुने भन्ने कुरामा जोड दिँदै आएका छन् । 

पार्टीको महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्दी रहेका नेता कोइरालाले नेपाली कांग्रेसभित्रको बलियो जनमतको नेतृत्व गरिरहेका छन् । नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला र पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीको जिम्मेवारी पाएका शेखर कोइरालासँग महाधिवेशनपछि ठूलो जनमत आकर्षित हुँदै गएको देखिन्छ । बिराटनगरको सभामा सहभागी नेता कार्यकर्ताको संख्या र प्रतिनिधित्वले यस कुराको पुष्टि गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

निर्वाचन प्रचार सभा नभनिए पनि पार्टी एकताको पक्षमा जोड दिँदै चुनावी तालमेलप्रति असमतीको सन्देश दिन यो सभाको उदेश्य रहेको देखिन्छ ।

पौडेल र सिटौलाको चाहना 

नेपाली कांग्रेसका दुइजना नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चैं स्थानीय निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गरेर जानुपर्ने पक्षमा छन् । उनीहरु यही निर्णय उचित हुने तर्क गर्दै सभापति देउवालाई सहमत गराउन सक्रिय देखिन्छन् । सभापति देउवाको मनसाय पनि यस्तै बुझेका पौडेल र सिटौलाले तालमेलकै पक्षमा पार्टीले औपचारिक निर्णय गर्नुपर्ने भनेर सभापति देउवालाई दवाव दिने गरेको बुझिएको छ ।

नेताहरु पौडेल र सिटौला चुनावी तालमेलको पक्षमा रहनु बुझ्न सकिने कुरा हो । गएको संसदीय निर्वाचनमा आफ्नो क्षेत्र जोगाउन नसकेका यी दुइ नेतालाई स्थानीय निर्वाचनमा अरु दलसँग तालमेल गर्न पाए संसदीय निर्वाचनमा यसकै आधारमा उनीहरुको समर्थन लिएर निर्वाचन जित्न सकिन्थ्यो भन्ने आशा हुनु अन्यथा पनि होइन । कांग्रेसले एक्लै निर्वाचनमा भाग लिँदा आफू जित्न नसकिने भयले प्रभावित पौडेल र सिटौलाले अरु दलसँग तालमेल गर्नुपर्छ भन्नु उनीहरुको वाध्यता हो ।

प्रचण्ड र माधवको आवश्यकता

एमालेसँगको मिलाप टुटेपछि कमजोर भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट छुट्टिएका माधवकुमार नेपालका लागि सत्ता गठबन्धन जोगाईराख्नु अनिवार्य आवश्यकता हो । आगामी स्थानीय निर्वाचन र त्यसपछि हुने अरु तहका निर्वाचनहरुमा एक्लाएक्लै प्रतिष्पर्धा गर्दा हुने क्षतिको आँकल गरेरै उनीहरु नेपाली कांग्रेसँगको सहयात्रा जोगाईराख्न चाहन्छन् । यो उनीहरुको बुझ्न सकिने वाध्यता हो । अझ यतिबेला आफ्नै समूहका नेताहरु बिच्किएका बेला प्रचण्ड र नेपाललाई सत्ता गठबन्धन सञ्जीवनी बूटी जस्तो भएको छ । 

एमसीसी परियोजना प्रतिनिधिसभाबाट अनुमोदन गर्दा आफ्नै समूहबाट आलोचित यी दुइ नेता राजनीतिको सबैभन्दा चुनौतिपूर्ण मोडमा छन् । छुट्टिएर आएको पार्टी एमालेमा फर्किएर जाने सम्भावना अत्यन्त न्यून देखिन्छ भने आफूसँग आएका नेता कार्यकर्तालाई जोगाएर मनाएर राख्न समेत उनीहरुलाई हम्मेहम्मे परिरहेको छ । 

यस्तो अवस्थामा नेपाली कांग्रेससँग तालमेल नगरी एक्लै स्थानीय निर्वाचनमा जानु प्रचण्ड र नेपालका लागि घातक कदम हुनसक्छ । यसो भएकाले उनीहरु कांग्रेस नेताहरु पौडेल र सिटौलालाई समर्थन गर्न वाध्य छन् । चुनावी तालमेल यी चार नेताको अस्तित्व रक्षाको अनिवार्य आवश्यकता जस्तो बन्न पुगेको छ । सभापति देउवाले कांग्रेस एक्लै निर्वाचनमा जान्छ भनेर स्पष्ट भन्न नसक्नुका पछाडिको एकमात्र मूल कारण यही हो भन्दा फरक पर्दैन ।

प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षको भन्दा आफ्नो पार्टी नेपाली कांग्रेसको हैसियत खुम्चिने हो कि भन्ने भयले ग्रस्त छन् । स्थानीय निर्वाचनले सबै दलको लोकप्रियता सुनिश्चित गर्ने छ । दुईतिहाईको सरकार टिकाउन नसक्ने एमाले, ठूला कम्युनिस्ट घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी जोगाउन असफल माओवादी केन्द्र र एमाले छोडेर अलग भएपछि बनेको एकिकृत समाजवादीमा मतदाताले आफ्नो निर्मम तरिकाले मूल्याङ्कन गर्लान् भन्ने भय छ । त्यस्तो सम्भावनालाई नकारीहाल्न पनि सकिँदैन । जनमतको अनादर हुनेगरी यसवीच भएका राजनीतिक गतिविधिले गर्दा कतिपय दल र नेतालाई स्थानीय निर्वाचनले गतिलै पाठ पढाउने जोखिम पनि छ ।

नेपाली कांग्रेस र नेकपा एमाले आआफ्नै सामर्थ्यमा मत माग्न गए भने अरु ससाना दल राजनीतिक सुनामीको शिकार नहोलान् पनि भन्न सकिँदैन । यही कारण आफ्नो क्षेत्र र विश्वसनियता गुमाएका नेताहरु  चुनावी तालमेलको पक्षमा पैरवी गर्न न्वारानदेखिको बल लगाएर सक्रिय छन् । नेपाली कांग्रेसले यसबारेमा के कस्तो रणनीति बनाउँछ त्यो अहिले नै भन्न सकिँदैन । तर तालमेल गरेर जाने कि एक्लै भाग लिने भन्ने दुइवटा मतमा कांग्रेसभित्र बलियोसँग बहस भने सुरु भएको छ । यसमा नेता शेखर कोइरालाले बिराटनगरको सभाबाट आफ्नो पक्षको मत प्रष्ट पारिसकेका छन् भने सभापति देउवा यतिञ्जेल मौन छन् । उनको समूहका कुनै नेताले यसबारेमा स्पष्ट मत प्रकट गरिहालेका छैनन् ।

मुख्य विपक्षी दल एमालेले भने निर्वाचन लक्षित प्रचार अभियानमा आफ्नो दलको संयन्त्र सक्रिय गराएको छ । एमाले अध्यक्ष केपीशर्मा ओली माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपाल प्रति आक्रामक ढंगले उत्रिएर पार्टीका नीति सुनाउन सक्रिय भैसकेका छन् ।  
   
 

प्रतिक्रिया