न्यायालय सुधारका लागि पहल गर्ने सर्वोच्चका 'असन्तुष्ट' न्यायाधीशहरुको आश्वासन

काठमाडौं । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानका सम्बन्धमा छलफल भएको छ ।  

बार एशोसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो । छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएका नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटम लाइन रहेको छलफलका क्रममा राखेको उनले बताइन् । उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरुले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनैपनि सम्झौता नहुने जनाएका छन् । न्यायालय सुधारकै निम्ति आफूहरुले योगदान दिने न्यायाधीशहरुले बताएका उपाध्यक्ष बस्यालको भनाई छ ।

न्यायाधीशहरुको भनाई उदृत गर्दै बस्यालले भनिन्, ‘उहाँहरु सेवाग्राहीलाई सेवाबाट जुन वञ्चित हुनुपरेको छ । यसको बारेमा चिन्तित हुनुहुन्छ । दोस्रो न्यायपालिकाभित्रका विकृति, विसंगतिको बारेमा उहाँहरु हामी पनि कम्परमाइज गर्दैनौँ । जे–जस्तो सुधार हो त्यसको लागि हामी पनि पहल गर्छौ । हाम्रोपनि योगदान रहन्छ भनेर भन्नुभएको छ ।’

नेपाल बार एशोसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताइन् । 

प्रतिक्रिया