'व्याख्यात्मक टिप्पणीको ग्यारेन्टी नभएकाले एमसीसी पास गर्नु हुन्न'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा मान्य नहुने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै खनालले एमसीसीमा शर्तैशर्त बेरिएकाले यो मान्य नहुने बताएका छन् । उनले नेपालको स्वतन्त्रतालाई सम्मान गरेर दिएको सहयोग मात्र लिनुपर्ने बताए ।

उनले भने, ‘अमेरिकासँग ७० वर्षदेखि सहकार्य गरिरहेका छौँ। हामी अमेरिकाले ५० करोड होइन एक खर्ब सहयोग दिएपनि लिन्छौं । जुन सहयोग सम्मान र नेपालको स्वतन्त्रतालाई सम्मान साथ दिएको हुनुपर्छ।’

उनले एमसीसीमाथि सदनमा छलफल गर्ने वातावरण नभएको भन्दै प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराए । खनालले व्याख्यात्मक टिप्पणीको ग्यारेन्टी नभएकाले एमसीसी पास गर्न नहुने बताए । उनले भने,‘अहिले व्याख्यात्मक टिप्पणी गरेर पास गर्ने कुरा आइरहेको छ। त्यसको ग्यारेन्टी के छ ? यसको कुनै कानुनी आधार छैन। एकतर्फी रुपमा सभाले घोषणा गर्न मिल्दैन।’

प्रतिक्रिया