एमसीसी पास गरे देश दुर्घटनामा जान्छः खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन् । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु काँग्रेसको दिवा सपना मात्र भएको बताएका हुन् ।

उनले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने बताए । उनले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनाहरुलाई उजागर गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने,‘नेपाली कांग्रेसले कसरी अघि बढ्ने भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुपर्छ । जनता, देश जे सुकै होस् एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश अलि दुर्घटनातिर जान्छ । नेकपा एमालेसँग सहमति गरेर मुलुकमा शान्ति कायम होला भन्ने सपना देख्नुभएको छ भने यो दिउँसो आकाशतिर हेरेर देखेको सपना मात्रै हो । त्यो सपना नदेखे पनि हुन्छ ।’

प्रतिक्रिया