प्रचण्ड–माधवले विथोलेको राजनीति र कूटनीति

sundari pokhrelअमेरिकाको टेक्सास राज्यमा अति चाँडो मौसम परिवर्तन हुन्छ । अहिले टन्टलापुर घाम लागेको छ भने पाँच मिनेटपछि हिमपात हुनसक्छ । हिमपात भएको दस मिनेटपछि फेरि टन्टलापुर घाम लाग्न सक्छ । अमेरिकामा ‘टेक्सास वेदर’ विशेष खालको शब्दावली मानिन्छ र चर्चित छ । ‘टेक्सास वेदर’ भन्दा चाँडोचाँडो फेरिने खालका नेता नेपालमा छन् । 

तेस्रो विश्वका अधिकांश मुलुकको समस्या अस्थिर चरित्रका नेता र पार्टी हुन् । खासगरी अल्पविकसित मुलुक, जहाँ लोकतन्त्र संस्थागत भएको हुँदैन, त्यस्ता देशको राजनीति अस्थिर हुन्छ । त्यस्तो देशमा नेता र पार्टीहरु अस्थिर चरित्रका हुन्छन् । 

अहिले नेपालमा राजनीति गर्माएको अवस्था छ । कतिपय पार्टी र नेताहरु ‘टेक्सास वेदर’ का रुपमा देखा परिरहेका छन् । ठेट नेपाली भाषामा छेपारोले रंग फेरे सरह भने पनि हुन्छ । अहिलेको तरल अवस्थाले भावी राजनीति झन् अस्थिर हुने संकेत देखिएको छ । 

नेपाली राजनीतिमा अहिले देखिएको अवस्था र समस्या अस्थायी प्रकृतिको छैन । अहिलेको उथलपुथलले देशलाई दीर्घकालिन असर पर्ने देखिन्छ । यसका मुख्य कारण निम्न छन्–

१– केही राजनीतिक शक्तिहरुको औचित्य समाप्त भएको देखिँदैछ । उनीहरुको अस्तित्व समाप्त हुने क्रममा छ ।

२– नेपाली राजनीतिक अस्थिरताको आयाम देशभित्र मात्र सीमित रहेन, विश्व राजनीतिसँग पनि गाँसियो ।

३– नेपालमा शक्ति राष्ट्रहरुको चासो अब गुपचुप रहेन, खुलेआम देखिन थाल्यो । 

माथिका तीन कारणहरुले गर्दा नेपाली राजनीति अब पहिले जस्तो रहेन भन्न सकिन्छ । नेपाली राजनीतिलाई अस्थिरतामा लैजाने, नेपाललाई अस्थिर बनाउने प्रयास पहिले पनि भएको थियो र आगामी दिनमा पनि हुनेछ । भावी दिनमा नेपालमा स्थिरतावादी शक्ति नै हावी हुने विश्वास गर्न सकिन्छ । तर, राजनीतिलाई अस्थिर बनाउने आधारहरु अहिले बलियो बन्दै गइरहेको छ ।

नेपालमा पौने शताब्दीदेखि राजनीति कहिले स्थिर भएन । कुनै पनि संविधानले काम गरेन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । ७२ वर्ष बीचमा ५५ पटकभन्दा धेरै सरकार फेरिएको छ । धेरै दुःखका दिन भोगेर नेपाली राजनीति अहिलेको अवस्थामा आइपुगेको छ । अहिले नेपालले सम्पूर्ण रुपमा विकास र समृद्धिलाई केन्द्रमा राख्नुपर्ने बेला हो । अबको यात्रा आर्थिक समृद्धितिर हो तैपनि राजनीतिक मुद्दाहरुमा देशलाई अल्मलाउन खोजिँदैछ । 

देशलाई जटिल परिस्थितिमा पुर्याउने अस्थिरतावादी शक्तिहरुको प्रयास छ । उनीहरुको प्रयासकै कारण चुनाव हुन नसक्ने, चुनाव गर्न नदिने, स्थिर सरकार बन्न नदिने, मिलीजुली सरकारलाई पनि काम गर्न नदिने प्रयास भइरहेको छ । देशलाई दीर्घकालीन अहित हुने गरी अहिले राजनीतिक गतिविधि चलाइँदै छ । 

माथि चर्चा गरिएका तीन कारणहरुलाई अब क्रमशः केलाऔं । 

केहीको अस्तित्व सकिँदैछ

नेपालमा राणा शासनको अस्तित्व सकियो । त्यो भ्याकुम पूरा हुन धेरै वर्ष लाग्यो । ०७ सालपछि लामो समय अस्थिरता सिर्जना भएको थियो । ०४७ सालमा पञ्चायती व्यवस्था समाप्त भयो । त्यसको ठाउँ बहुदलीय व्यवस्थाले लियो । कांग्रेस र एमाले प्रमुख पार्टी बनेका थिए । 

राजनीति एउटा कोर्सबाट अर्काे कोर्समा जाँदा केही शक्ति अस्ताउँछन् । केही शक्ति उदाउँछन् । पछिल्लो कालमा राजतन्त्र अस्तायो । राजतन्त्रको अन्त्यसँगै माओवादी पार्टी शक्तिशाली रुपमा उदायो । पछिल्ला दिनमा यसको शक्ति क्षय हुँदै गयो । विगतमा हिंसात्मक राजनीति गरेको माओवादी शक्ति छिन्नभिन्न हुँदै गयो । शान्तिपूर्ण राजनीतिमा आए पनि माओवादी शक्तिले आफूलाई समाल्न सकेन । गत डेढ दशकदेखि माओवादी कुनै न कुनै रुपमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएको छ । 

आफ्नो शक्ति क्षय हुँदै जाँदा पार्टी र नेताले रंग फेर्नुपर्ने हुन्छ । माओवादीलाई त्यही भयो । खुला राजनीतिमा शिखरमा पनि पुग्यो तर बारम्बार रंग फेरिहनुपर्ने अवस्था उसले सामना गर्याे । रंग फेरिरहने, बोलि फेरिरहने, अविश्वसनीय रुपमा प्रस्तुत हुने माओवादीको चरित्र त्यसका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधित्व गर्छन् । 

नेपालमा अहिले सबैभन्दा अविश्वसनीय शक्ति माओवादी हो र अविश्वसनीय नेता प्रचण्ड हुन् । माओवादी र प्रचण्डको रानजीति सकिने अवस्थामा पुगेको छ । माओवादीले आफ्नो अस्तित्व अस्थिरतामा मात्र रहन सक्छ भन्ने बुझेको छ । त्यसैले उसले राजनीतिक अस्थिरतालाई जहिले पनि मलजल गर्दै आएको छ । अहिले एउटा मुखले एमसीसी पास गर्छु भन्ने, अर्काे मुखले फेल गर्छु भन्ने माओवादीको चरित्रको पछाडि राजनीतिक अस्थिरता फैलाउने नियत लुकेको छ । 

माओवादीले एमसीसीलाई बहाना बनाएर राजनीतिक उथलपुथल गराउने, देशलाई ध्रुवीकरणमा लैजाने प्रयास गरिरहेको छ । अस्तित्व रक्षाका लागि माओवादीलाई कुनै ठूलो मुद्दा चाहिएको छ । एमसीसी त्यस्तो मुद्दा हुनसक्छ कि भनेर माओवादीले परीक्षण गर्दै आएको छ । एमसीसीलाई उग्र मुद्दा बनाएर सडकमा पनि जाने, सरकारमा पनि बस्ने माओवादीको व्यवहारले अनौठो अवस्था उत्पन्न गराइदिएको छ । माओवादीलाई झनै अविश्वसनीय बनाइरहेको छ ।

अहिलेको गतिविधि हेर्दा नेपालमा माओवादीको राजनीतिक अवसान अपरिहार्य देखिन्छ । विगतमा राणा र राजा सकिँदा उत्पन्न भएजस्तो भ्याकुम माओवादी सकिँदा हुने छैन । 

अस्थिरताको आयाम 

नेपालको राजनीतिक अस्थिरताको आयाम ठूलो छ । घरेलु राजनीतिसँग मात्र यसको सम्बन्ध छैन, वैदेशिक सम्बन्ध पनि रहेको छ भन्ने अहिलेको घटनाक्रमले प्रष्ट पारेको छ । 

नेपाली राजनीतिमा विदेशीको चासो र रुची भन्दा पनि प्रत्यक्ष स्वार्थ रहेको छ भन्ने संविधान निर्माणको बेलामा देखिएको थियो । युरोपियन युनियनले नेपालको संविधानमा के लेख्ने के नलेख्ने भनेर प्रत्यक्ष हस्तक्षेप गरेको थियो । भारतले नाकावन्दी समेत लगाएको थियो । अहिले ज्वलन्त बनेर एमसीसी प्रकरण आएको छ । एमसीसी नेपालका लागि ठीक कि बेठीक भन्ने बहस चलिरहेको छ । ठीक बेठीक भन्दा पनि एमसीसीलाई बहाना बनाएर नेपालमा कसले के गरिरहेको छ भन्ने ध्यान दिनुपर्ने भएको छ । 

एमसीसी प्रकरणमा चीन किन बोल्यो ? एमसीसी पास गराउन अमेरिकाले किन मरिहत्ते गरिरहेको छ ? एमसीसी प्रकरणमा चीन र अमेरिका बीच भनाभन समेत परिसकेको छ । नेपालको मामिलामा विगतमा चीन र भारतबीच सामान्य मतभेद बाहिर प्रकट भएको थियो । नेपाल मामिलामा यसरी शक्ति राष्ट्रहरुले परस्पर विरोधी धारणा भने पहिलो पटक ल्याएका हुन् । नेपाली राजनीतिमा सबै विश्वशक्ति तथा क्षेत्रीय शक्तिहरुको स्वार्थ छ भन्ने प्रष्ट हुन्छ । 

नेपालको मामिलामा चीन र अमेरिकाले भनाभन गर्नु असामान्य घटना हो । घरेलु राजनीतिमा अहिलेको अहिल्यै परिणाम देखिन्छ तर कूटनीतिमा तत्काल परिणाम देखिँदैन । कूटनीतिले दिने परिणाम दीर्घकालीन हुन्छ, धेरै समय लाग्छ । नेपालका प्रमुख राजनीतिक शक्ति कांग्रेस र एमाले हुन् । उनीहरुको नियन्त्रणमा मात्र नेपाली राजनीति छैन भन्ने अहिलेका घटनाले पनि प्रष्ट पार्छ । 

राजनीतिसँग गाँसिएको कूटनीति

नेपालमा विदेशी शक्तिलाई निम्त्याउने काम नेपाली शक्तिहरुले नै गर्ने गरेका छन् । शक्ति राष्ट्रहरुलाई एकथरीले चिढ्याउने र अर्काथरीले फकाउने गर्नाले नेपालमा विदेशीलाई सजिलो भएको छ । अहिले एकथरीले अमेरिकालाई र अर्काेथरीले चीनलाई गाली गरिरहेका छन्, फकाइरहेका छन् । सरकारको हातबाट कूटनीति फुत्किएपछि यो अवस्था आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डसँग मिलेर एमसीसीलाई चिठी लेख्नु गम्भीर गल्ती थियो । देउवा र प्रचण्डले घरेलु राजनीति र कूटनीतिलाई मिसाइदिए । 

विदेश सम्बन्ध र घरेलु राजनीतिलाई नजोड्ने प्रयास हरेक मुलुकले गर्छन् । नेपालमा भने सरकार स्वयंले घरेलु राजनीतिलाई वैदेशिक सम्बन्धसँग जोड्न प्रयास गर्याे । यही कारण एमसीसी यति ठूलो र विवादास्पद मुद्दा बन्न पुगेको हो । एमसीसीलाई लिएर राष्ट्रवादको राजनीति गर्न खोजियो । यो कारण पनि नेपालको मामिलामा चीन र अमेरिकाले खुलेर बोल्ने मौका पाएका हुन् । चीन र अमेरिका नेपालको मामिलामा भनाभन गर्नु नेपालका लागि सुखद हुन सक्दैन । नेपाली नेताहरुको कूटनीतिक खेलाँचीपनका कारण यस्तो हुन गएको हो । 

घरेलु राजनीतिलाई कूटनीतिक सम्बन्धसँग गाँसिदिएपछि अस्थिरता सिर्जना गर्न सजिलो हुन्छ भन्ने प्रचण्डले जति अरु कसैले बुझेका छैनन् । एमसीसी प्रकरणको सुरुदेखिकै अवस्थालाई हेर्ने हो भने यसलाई गिजोलेर राजनीति गर्ने दाउ प्रचण्ड र माधवले मिलेरै गरेको देखिन्छ । अहिले दुवै पार्टी सरकारमा छन् तैपनि एमसीसी मुद्दामा सडकमा पनि छन् । राजनीतिलाई अस्थिरतामा लैजाने, वैदेशिक सम्बन्धलाई गिजोल्ने, नेपाललाई दीर्घकालिन समस्यामा फसाउने उद्देश्यले नै प्रचण्ड र माधव सरकार र सडक दुवैतिर छन् । कूटनीति भनेको घरेलु राजनीतिकै विस्तारित रुप हो । नेपाली राजनीतिका अस्ताउँदा शक्तिहरु, केही क्षणका लागि सरकारमा पुगेका शक्तिहरुले कूटनीतिलाई गिजोल्छन् भने त्यो मान्य हुन सक्दैन ।

कुनै पनि लोकतान्त्रिक देशमा एउटै पार्टी सरकारमा र सडकमा हुन सक्दैन । कुनै पनि सभ्य मुलुकको सरकारमा बसेको पार्टीले सडकमा गएर अर्काे कुनै देश विरुद्ध नारा लगाउँदैन । अहिले कोही सर्वसाधारणलाई कुनै देशसँग चित्त नबुझेको हुनसक्छ, त्यस्तो नाराबाट केही मानिस उरालिन पनि सक्लान् तर यसले देशको दीर्घकालीन हित गर्न सक्दैन । 

प्रचण्ड र माधवको आलोकाँचो राजनीति र कूटनीतिक केटाकेटीपनको सिकार प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार पनि भइरहेको छ । यस्ता आलाकाँचा नेताबाट देशले सुख पाएको पनि थिएन र पाउनेवाला पनि छैन । 

घरेलु राजनीतिमा बारम्बार बोलिवचन फेर्नुलाई नेपाली राजनीतिक परम्परा मानिदिन सकिएला तर वैदेशिक मामिलामा समेत ‘टेक्सास वेदर’ चरित्र प्रदर्शन गर्नु निन्दनीय छ ।

(अमेरिकाको युनिभर्सिटी अफ नर्थ टेक्सास विश्वविद्यालयबाट केमिस्ट्रीमा पिएचडी । दुई दशकदेखि विभिन्न विश्वविद्यालय तथा कलेजमा प्राध्यापन)

facebook.com/sundari.sharma.1
Twitter: @SundariPokharel

प्रतिक्रिया