अस्ट्रेलियाको राजनीतिमा बढ्दैछ नेपालीको प्रभाव


काठमाडौं । अस्ट्रेलियामा यही डिसेम्वर ४, २०२१ मा हुने स्थानिय निर्वाचनका लागि नेपाली उम्मेदवारको लर्को लाग्दैछ । विभिन्न क्षेत्रबाट नेपालीले उम्मेदवारी दिएका खबर आइरहेका छन्, जसले अस्ट्रेलियाको राजनीतिमा नेपालीको पहुँच र प्रभाव बढदै गएको संकेत गर्छ । 

हालसम्म उम्मेदवारका रुपमा अगाडि आएका नेपालीमा अन्जना बस्नेत कार्की, दिपेश चिलवाल, अनन्त कार्की (एलेक्स), अस्मिता खरेल, विनोद पौडेल दम्पती र भद्र वाइवा रहेका छन्, जो विभिन्न क्षेत्रबाट चुनावी मैदानमा भिडदैछन् । 

अस्ट्रेलियाको चर्चित नेपाली अनलाइन ‘एएनजेडखबर’का अनुसार सिड्नीस्थित लिभरपुल सिटीको काउन्सिलर पदमा नेपाली युवा दिपेश चिलुवालले उम्मेदवारी दिने भएका छन् ।  डिसेम्वर ४ मा हुने निर्वाचनका लागि मनोनित भएसँगै चिलुवाल चुनावी प्रचार प्रसारमा जुटेका छन् । 

अस्ट्रेलियास्थित ‘एडमन्सन पार्क नेपाली समूह, बर्दियाका महासचिव दिपेस पनि स्थानिय समुदायमा प्रभावशाली मानिन्छन् । एडमन्सन पार्कमा रहेका र आगामी दिनमा बस्न चाहने नेपालीलाई एकढिक्का बनाउने र आवश्यक सल्लाह र सहयोग गर्न यो समूहमार्फत दिपेशले शक्रियता देखाउँदै आएका छन् । 

यसैगरी न्यू साउथ वेल्समा हुन लागेको स्थानिय निर्वाचनमा नर्थ सिडनी काउन्सलर पदमा अन्जना बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । अन्जनाले ५ जनाको प्यानल नै बनाएकी छिन्, जसको नाम ‘एली’ राखिएको छ । अन्जनाको समूहबाट काउन्सलर पदमा एलि प्रिभोष्ट, क्यान्डिस बोथ, मेलिन्डा स्मिथ र मिसेल लिंगमले पनि उम्मेदवारी दिएका छन् । 

‘अस्ट्रेलिया दोलखा समाजकी सदस्य तथा अस्ट्रेलियन डेमोक्रेटिक फोरमकी सामाजिक तथा सांस्कृतिक संयोजक अन्जना सन् २००६ मा अस्ट्रेलिया आएकी थिइन् । हिमानी कोष, अस्ट्रेलियाकी अध्यक्ष नातामा काँग्रेस नेता बेनिबहादुर कार्की (हाल दिवंगत) की बुहारी हुन् । लिवरल पार्टीको महिला विभागमा रहेर काम गरिसकेकी अन्जनाको स्थानिय समुदायमा प्रभाव देखिन्छ’, एएनजेडखबरले लेखेको छ ।
 
यसैगरी न्यू साउथवेल्स लेवर पार्टीले क्यान्टरबरी बैंकस्टाउन काउन्सीलको रोजल्याण्डस् वार्डको लागि कार्ल सालेह ओएएमको  टोलीलाई आधिकारिक रुपमा समर्थन गरिसकेको छ, जुन टोलीमा नेपाली उम्मेदवार भद्र वाइबा पनि काउन्सलर उम्मेदवार छिन् । 

लेवर पार्टीको समर्थन पाएपछि सालेहले भनेका छन्, ‘म भद्र वाइबा र मोहम्मद कबीरको इमान्दार र विश्वासिलो टिमसँग काम गर्न पाउँदा गर्व गर्छु । यो टोलीले हाम्रो समुदायको विविधता प्रतिबिम्बित गर्ने र स्थानिय समुदायको लागि कडा परिश्रम गर्दै आएको छ ।’

सालेहले नेपाली उम्मेदवार भद्राको प्रशँसा गरेका छन् । उनले भनेका छन्, ‘भद्र वाइबा एक अग्रपँक्तिकी नर्स हुन्, जसले हाम्रो स्थानिय समुदायका कमजोर मानिसलाई सहयो गर्न कोविड–१९ महामारीका बेला अथक परिश्रम गरीन् ।’

सन् २०१९ मा भद्रालाई अस्ट्रेलियाका महिला मन्त्री तथा लाकेम्बा राज्यकी सांसद जिहाद दिले स्थानिय समुदायमा गरेको सेवाका लागि ‘न्यू साउथवेल्स स्थानिय महिला वर्ष’को उपाधिबाट सम्मानित् गरेकी थिइन् । यस क्षेत्रमा भद्राको ख्याती र योगदानका कारण उनको जित्ने प्रवल सम्भावना छ । 

यसैगरी न्यु साउथवेल्स राज्य, क्याम्पेलटाउन सिटीको काउन्सिलर पदमा नेपाली दम्पती बिनोद पौडेल र जिम्पसोना  पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । विवाहको दशौं वार्षिकीका अवसरमा यो दम्पतीले सार्वजनिक गरेको उम्मेदवारीलाई सत्तारुढ लिवरल पार्टीले अनुमोदन गरिसकेको छ ।

सन् २००७ मा अध्ययनका लागि अष्ट्रेलिया आएका बिनोद र जिम्पसोना सन् २०१२ देखि नै लिवरल पार्टीको सदस्य छन् । बिनोद चाहिँ सन् २०१३ देखि १५ सम्म राज्य सरकारको मन्त्रीस्तरिय सल्लाहकार समितिको संयोजक रहीसकेका छन् । चितवनका बिनोद मोटिभेसनल कोच हुन भने धरानकी जिम्पसोना नारी निकुञ्ज अष्ट्रेलियाको कोषाध्यक्ष छिन् ।

अस्ट्रेलियामा शिक्षा र रोजगारी मात्र हैन, राजनीतिमा नेपालीको सहभागिता बढन थालेको यसबाट स्पष्ट हुन्छ । स्थानिय निकायदेखि संघिय तहसम्मकै चुनावमा नेपालीको पहुँच बढदैछ । 

सन् २०१९ को निर्वाचनमा तात्कालीन सत्तासीन लिवरल पार्टीले नेपाली युवा प्रमेज श्रेष्ठलाई बार्टन क्षेत्रबाट संघीय संसदकै उम्मेदबार बनाएको थियो । यसैगरी तेश्रो ठूलो दल ग्रिन्सले पश्चिम अस्ट्रेलियाबाट नेपाली मूलका युवा भवुन खड्कालाई माथिल्लो सदन सिनेट सदस्यका लागि सिफारिश गरेको थियो । 

अस्ट्रेलियामा नेपालीको संख्या हरेक वर्ष बढदैछ । सन् २००५ यता अस्ट्रेलियामा नेपालीको संख्या हवात्तै बढेको हो । अस्ट्रेलियामा हरेक वर्ष करीब २८ प्रतिशतका दरले नेपालीको संख्या बढीरहेको तथ्यांकहरुले देखाएका छन् । सन् २००५ मा करीब ४ हजार नेपाली थिए । अहिले यो संख्या बढेर ५५ हजार भएको अस्ट्रेलियाको जनगणना रिपोर्टमा उल्लेख छ । 
अध्यागमन विभागका अनुसार गत वर्ष सन् २०१९÷२० मा मात्र वार्षिक आप्रवासी कार्यक्रम अनुसार ५ हजार बढी नेपालीले पिआर पाए । 

यसरी नेपालीको संख्या बढेसँगै अस्ट्रेलियाका प्रमुख दुइ राजनीतिक दल लेवर पार्टी र लिवरल पार्टीले नेपाली समुदायमा आफ्नो शक्रियता बढाएका छन् । उनीहरुले नेपालीमाझ आफु समर्थक सँगठनसमेत बनाएका छन् । 

लिबरल, लेबर र अन्य पार्टीको सदस्यता लिएका र सँगठनमा शक्रियता देखाएका नेपालीले विभिन्न पदमा उम्मेदवारीको मौका पाउन थालेका छन् । आप्रवासीको संख्या बढदै गएको अस्ट्रेलियामा नेपालीले पनि आफ्नो भिन्नै पहुँच र स्थान राजनीतिक तहसम्मै निर्माण गर्न थालेको देखिन्छ । 

प्रतिक्रिया