'गठबन्धन टुट्ने कुरा नगर्नुस्, अझ बलियो हुन्छ'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन् । बुधबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका हुन् ।

उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भएपनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिस्पर्धा गर्ने बताए । अध्यक्ष नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिवद्धता भएको जानकारी दिए ।

उनले भने, ‘दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगराउनुस् । यो गठबन्धन टुट्नेवाला छैन । यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर प्रतिवद्धता जनाएका छौँ । जेठमा स्थानीय चुनाव हुन गइरहेको छ । त्यसमा पनि गठबन्धनका दलहरु मिलेर अघि बढ्नेछौं ।’

अध्यक्ष नेपालले देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्न पाइने बताए ।

प्रतिक्रिया