'स्थानीय तहको चुनाव संविधान र कानुनअनुरुप हुन्छ'

काठमाडौं । नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानुनअनुरुप हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए ।

उनले एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले सत्ता गठबन्धनले विज्ञहरुसँग विस्तृत छलफल गरिरहेको जानकारी दिए ।

उनले भने,‘संविधानलाई सर्वोपरि राखेर, कानुन अनुरुप नै चुनाव सम्पन्न हुनुपर्छ । यसो गर्दा एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ । किनभने एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुन्छ । यो भन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो । त्यसैले कम खर्चमा चुनाव सम्पन्न गर्नेबारे हामीले छलफल चलाइरहेका छौँ ।’

उनले आज भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धले जित्ने र अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताए ।

प्रतिक्रिया