काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन केपीसीले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको जनाएको छ ।
केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन आक्रमणका कारण रिफाइनरीका धेरै इकाईहरूमा आगलागी भएको छ ।सावधानीका लागि केन्द्रका केही भागहरू बन्द गरिएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको र आपतकालीन टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको कम्पनीले जनाएको छ । पछिल्लो समय पश्चिम एसियाका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी आक्रमणहरू तीव्र भएका छन् । प्राप्त जानकारी अनुसार बुधबार राति इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा आक्रमण गरेको थियो ।
इजरायली आक्रमणको प्रतिशोधमा इरानले कतारको ‘रास लाफान’ औद्योगिक शहरमा आक्रमण गरेको छ । कतारको रक्षा मन्त्रालयका अनुसार यसबाट त्यहाँको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको छ । बिहीबार इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइलले इजरायलको उत्तरी सहर हाइफामा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पु¥याएको सीएनएनले पुष्टि गरेको छ । यसैबीच, सुरक्षा अवस्था बिग्रिँदै गएपछि साउदी अरबले आफ्नो आकाशमा थप चारवटा ड्रोनहरू नष्ट गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायललाई कडा चेतावनी दिँदै भनेका छन् कि इरानले हालसम्म आफ्नो शक्तिको सानो अंश मात्र प्रयोग गरेको छ । उनले ‘एक्स’ मा लेख्दै भनेका छन,‘हामीले संयमता अपनाउनुको एक मात्र कारण तनाव कम गर्ने आग्रहलाई सम्मान गर्नु थियो । तर, यदि हाम्रा पूर्वाधारहरूमा पुन: आक्रमण गरियो भने हामी ‘शून्य सहनशीलता’को नीति अपनाउनेछौं ।’
मन्त्री अराघचीले कुनै पनि युद्ध अन्त्यका लागि नागरिक स्थलहरूमा भएको क्षतिको उचित सम्बोधन हुनुपर्ने अडान समेत राखेका छन् । अहिले इजरायल र इरानबीच जारी मिसाइल आदान–प्रदान र सैन्य कारबाहीले विश्वव्यापी ऊर्जा आपूर्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ । एएनआई
प्रतिक्रिया