एमाले पार्टीको भविष्य नभएको माधव नेपालको जिकिर

दार्चुला । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर आइपुगेका अध्यक्ष नेपालले अहिले बनेको गठबन्धन स्थानीय तह, प्रदेश, सङ्घ र अब छिट्टै हुने राष्ट्रियसभा निर्वाचनमा यथावत रहने बताएका हुन् ।

उनले केपी ओलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिए । अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर गरे ।

उनले भने, “आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्तासाफ हुनेछ ।” उनले अहिले घोषणा गरिएको कमिटीलाई सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामका लागि बजेटको कमी हुन नदिने बताए । 

नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटी घोषणा कार्यक्रममा उनले अहिले विमानस्थलका लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने बताए ।

उनले भने, “अहिले विमानस्थलमा थोरै बजेट देखेँ । यो विमानस्थलको टर्मिनल भवन, ट्याक्सी पार्किङलगायतका सबै भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिन्छ ।”

उनले विमानस्थल निर्माण संवेदनशील भएको भन्दै ठेकेदारले बदमासी गर्नबाट जोगाउन आग्रह गरे । “विमानस्थलमा बजेट विनियोजन हुन्छ, यसको निर्माणमा निगरानी गर्नुहोला”, उनले भने । उनले राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा विगतको सरकारबाट बजेटमा कटौती हुँदै गएको भन्दै अब मालिकार्जुन धाममा क्रमागतरूपमा चाहिने जति बजेट राखिने बताए ।
 

प्रतिक्रिया