एनपिएल दोस्रो संस्करण

यस्तो हुनेछ उद्घाटन खेल, यी हुन् खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुने उद्घाटन खेलमा पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिष्पर्धा हुनेछ । 

र्कीतिपुरमा नवनिर्मित अन्तरराष्ट्रिय त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल अपरान्ह ४ बजे सुरु हुनेछ । यसपछि एनपीएल दोस्रो संस्करणका अरु खेलहरु हुनेछन् । पहिलो संस्करणको प्रतिष्पर्धामा काठमाडौँलाई पछि पार्दै जनकपुरले विजयी भएको थियो । जनकपुर यसपाली पनि काठमाडौँलाई पछि पारेर पहिलो हुने तयारीमा देखिन्छ । उता काठमाडौँ पनि पहिलो संस्करणको हारलाई जितमा परिणत गर्ने रणनीतिका साथ प्रतिष्पर्धामा उत्रँदैछ ।

पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको नेतृत्वमा रहेको जनकपुर यस संस्करणमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा मैदानमा उत्रिँदैछ ।

दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल जनकपुरले प्रतियोगिताका निम्ति आफूसँग आवध्द गराएका सुपरिचित नाम हुन् । यी दुवैले अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् ।

पहिला संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि आफैंसँग समेटेको छ ।

सञ्जय कृष्णमुर्ती (अमेरिका) र निकोल लोफ्टी इटोन (नामिबिया) हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएको छ। यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसमको साथ पाएको जनकपुरमा यसपटक भने उनको उपस्थिति रहने छैन ।

यता काठमाडौँले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको भूमिका दिएको  भने मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पनि हुन् । एनपिएलको यो सिजनमा काठमाडौँ विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली हो । टोलीले पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो ।

त्यसपछि काठमाडौँले स्कटल्यान्डका जेरहार्ड इरस्मससँग सम्झौता नवीकरण गरेको थियो । अमेरिकी अलराउन्डर मिलिन्ड कुमार, भारतीय मूलका अमेरिकी खेलाडी सन्नी पटेल र इङ्ल्यान्डका खेलाडीद्धय बेन चाल्र्सवर्थ र जोन सिम्पसन पनि टोलीमा जोडिएका छन् ।

काठमाडौँले मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ । यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई आवध्द गरेको थियो ।

दोस्रो संस्करणको जनकपुरको टोलीमा मार्की खेलाडी आसिफ शेखसहित अनिलकुमार साह, जान निकोल लोफ्टी इटोन, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, इम्रान ताहिर, तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास अग्री, सचिन भट्टलाई, लाहिरु मिलन्था, वायने पार्ने र सञ्जय कृष्णमुर्ती छ्न् ।

त्यसैगरी काठमाडौँ गोर्खाजमा मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार,मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल छन् ।

दोस्रो संस्करणको उद्घाटन खेल हेर्न दर्शकहरुको निकै चाप बढेको देखिएको छ । तर रंगशालाको क्षमता अनुसारको पहिलो दिनको सबै टिकट बिक्री भैसकेको क्यानले जनाएको छ । टिकट लिन असमर्थ दर्शकहरुलाई घरमै बसेर खेल हेरिदिन क्यानले अनुरोध समेत गरिसकेको छ । सुरक्षा प्रवन्ध लगायत विगतमा त्रुटी देखिएका सबै पक्षहरुमा सुधार भएको क्यानको दावी छ ।
 

प्रतिक्रिया