बिक्रम सम्वत् २०८२ भदौका दुइदिन २३ र २४ गते इतिहासका पानामा कसरी अंकित हुनेछन् भनेर अहिले बहस गर्ने समय होइन । यसको अनुसन्धान र अभिलेख समयक्रममा हुँदैजाला । जनधनको अपूरणीय क्षति र राष्ट्रिय सम्पदाहरु खरानीमा परिणत भएपछिको चोट मनमा बोकेर अहिले यो समय हो शान्तिपूर्ण निरन्तर यात्राको । तसर्थ हातमा लागेको खरानी टक्टक्याउँदै यात्रालाई अघि बढाउनु नै अहिलेका लागि हाम्रो देश र हामी देशवासीका हितमा हुनेछ । यस्तो संवेदनशील समयमा परस्पर दोषारोप र अलमल थप घातक हुनपनि सक्नेछ ।
यतिबेला राजनीतिक निकास निकै पेचिलो बनिरहेको छ । २३ भदौमा भ्रष्टाचार विरुध्द आवाज उठाउँदै प्रदर्शनमा निस्किएको जेन जी पुस्ता परिस्थितिले अकल्पनीय कोल्टे फेरेपछि स्वयं स्तव्ध देखिन्छ । सम्भावित अन्तरिम सरकारमा आफ्नो प्रतिनिधि पठाउन उसलाई धौधौ परिरहेको छ । सरकारको नेतृत्व नै गर्नसक्ने व्यक्तित्व जेन जीसँग नभएको स्पष्ट भैसकेको छ । तर उसले विश्वास गरेको जो कोही पनि त्यो स्थानमा पुग्नसक्ने सम्भावना प्रबल छ । जेन जीले आफ्नो प्रतिनिधि छनौटमा जति समय लगायो वर्तमान कष्टपूर्ण संक्रमण देश र देशवासीले भोगिरहनुपर्ने छ । यो आफैंमा अन्योल बढाउँदै लाने बिषय हुनेछ । तसर्थ सकेको चाँडो प्रतिनिधि चयन हुन आवश्यक छ ।
छँदाखाँदाको सरकार र संसद अब अतीतमा परिणत हुँदै जान थालेका छन् । सरकार कसरी पतन भयो भनेर यतिबेला चर्चा गर्नुको कुनै अर्थ रहेन । सरकार निर्माण गर्ने जननिर्वाचित संस्था संसद जीवितै छ तर सभामुखको अकर्मण्यताले त्यो संस्थाको औचित्य यस्तो कठिन र संगीन घडिमा देशलाई काम लागिरहेको छैन । सभामुख देवराज घिमिरेको तर्फबाट एक शब्द समेत यस्तो कठिन घडिमा देशले जान्न र सुन्न पाएको छैन । यो कस्तो दुर्भाग्यको अवस्था हो ?
देश र संविधानका संरक्षक मानिएका राष्ट्रपति रामचन्द्र पौडेलको मौनताको अर्थ के हो ? राष्ट्रिय महासंकटको तीन दिन बितिसक्दा पनि उनी किन देश र देशवासीलाई सम्वोधन गर्न असमर्थ छन् ? उनको यो मौनता स्वेच्छिक हो कि नियन्त्रित ? देश यो कुरा जान्न चाहन्छ र उनले अविलम्ब वर्तमान परिस्थितिबारे आफ्नो धारणा प्रत्यक्ष रुपमा सार्वजनिक गर्नैपर्छ । यस विषम परिस्थितिमा पनि कारण नखुलाई मौन बसिरहे उनलाई कसैले क्षमा गर्नेछैन ।
देशभर र विदेशमा रहेका नेपालीले निरन्तर प्रश्न गरिरहेका छन् के हाम्रा राष्ट्रपति छ न त छन् ? के हुने छ यसको जवाफ महामहिम ? तीतो लागे पनि यस्तो प्रश्न उठि नै रहेको छ ।
यो अभूतपूर्व संकटमा सत्ताको साँचो सैनिक मुख्यालयमा पुगेको छ । संकटमा सक्रिय भूमिका निर्वाह गर्ने राष्ट्रिय संस्था हो नेपाली सेना । तर के राजनीतिक बिषयको छिनोफानो गर्ने अन्तिम निकाय पनि उही नै हो त ? भद्रकालीमा अन्तरिम सरकारको नेतृत्व गर्ने बिषयमा जे जस्तो प्रदर्शन भैरहेको छ के त्यो दृश्यले महामहिम राष्ट्रपतिलाई छोएको छैन र ? यस्तो अवस्थामा आफ्नो भूमिका निर्वाह गर्न अवरोध कसैले गरिरहेको छ भने नेपाली जनता समक्ष जस्ताकोतस्तै परिस्थिति सार्वजनिक गर्नु पनि राष्ट्रपतिको परम् दायित्व हो ।
देशमा संविधान छ, राष्ट्रपति संस्था जीवितै छ । हालको जटिल परिस्थितिमा नयाँ बिषय उठेकाले त्यसको सम्वोधन हुनैपर्छ तर यही संविधानलाई आवश्यक सुधार गरेर अघि बढ्ने आवश्यक विकल्प खोजिनुपर्छ । जेन जीका मागहरुमा कसैको पनि असहमति र विरोध छैन, त्यस्तो हुनुपर्ने कुनै कारण पनि देखिँदैन । एकदम जायज मागहरु उठेका छन् । भलै मागहरु उठाउने क्रममा परिस्थिति उनीहरुको नियन्त्रणमा रहेन, अकल्पनीय राष्ट्रिय क्षति भएको छ । तर यो संकटबाट अघि बढ्दा राजनीतिक शक्तिहरु र संस्थाहरुलाई पुरै उपेक्षा गर्न सकिँदैन । अहिले तत्कालै उनीहरुमध्येका केही पात्रहरुप्रति जनतामा चरम रोष र आक्रोश अवश्य पनि छ । त्यस्ता पात्रहरु अब कहिल्यै पनि दृश्यमा आउन सम्भव देखिँदैन । तर राजनीतिक संस्थाहरु, पेशागत संगठनहरु र प्राज्ञिक वर्ग सबैलाई पन्छाएर गरिएको सम्भावित राजनीतिक निर्णयले वैधानिकता पाउन सक्ला र भन्ने पक्षलाई पनि चटक्क बिर्सन मिल्ने देखिँदैन । अहिले अन्तरिम सरकारको खाका कोर्न मेहनत गरिरहेका व्यक्तित्वहरुमा यस कुराको सम्झना रहोस् ।
परिवर्तन चाहने नयाँ पुस्ताभित्र पनि संसद र संविधानप्रति अगाध मोह र लगाव देखिन्छ । संविधान अपरिवर्तनिय दस्तावेज होइन भन्ने कुरा सवैलाई थाहै छ । समय अनुकूल आवश्यकता परेजति संशोधन गरेर अघि बढ्न कसैले रोक्न सक्दैन । त्यसैले संविधान र संसद मासेर बलजफ्ती अघि बढ्ने कुरा नसोच्दा नै बुध्दिमानी हुनेछ । हतारमा गरेको गल्तीमा भविष्यमा पश्चाप गर्दैमा केही उपलव्धि हुने छैन भन्ने पक्षमा पनि विचार गरौं ।
देश ‘न भूतो न भविष्यति’ जस्तो महासंकटमा परिसकेको छ । सम्यम्, सम्वाद र सहकार्य नै अहिलेको लागि महत्वपूर्ण कुराहरु हुन् । कसैप्रति पनि कुनै किसिमको पूर्वाग्रह र प्रतिशोध निषेध हुनुपर्छ । यस्तो बेलामा गरिने अवाञ्छित दाउपेच त झनै खतरनाक सिध्द हुनेछ । जसरी हुन्छ देशलाई संकटबाट सहजतातिर उन्मूख गराएर अघि बढ्नु नै वर्तमान राष्ट्रिय आवश्यकता हो ।
हामी सबैको ध्यान यतातिर जाओस्, शुभकामना !
संकटको घडिमा अदम्य साहस र धैर्य राखेर क्रियाशील नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल सबै नेपालीका तर्फबाट धन्यवादका पात्र हुन् । उनीहरुको सौर्य नै सबैको सुरक्षाको भरोसा हो, धन्यवाद !
प्रतिक्रिया