समाचार टिप्पणी

ओली तर्साउन विद्या उचाल्दै प्रचण्ड

काठमाडौं । कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल देशको कार्यकारी राष्ट्रपति बन्छन् कि बन्दैनन् त्यो त विधातालाई नै थाहा होला, नेपाली जनता भने अनभिज्ञ छन् ।

कतिपय यस्तो पनि ठान्दछन् कि राजतन्त्रको विदाईपछि पहिलो राष्ट्रपति हुनबाट गिरिजा प्रसाद कोइरालाको बाटोमा एम्बुस बिछ्याएपछि नै प्रचण्डको त्यो सपना पनि धरापमा परिसकेको छ ।

कोइरालाको अवसानपछिको राजनीति करिब करिब यसकै वरिपरी चक्कर लगाईरहेको छ भनिन्छ । खासगरी संविधान सभाले संविधान घोषणा गरेपछि प्रचण्डको कार्यकारी राष्ट्रपति बन्ने सपना   चक्रब्यूहमा परिसकेको चर्चा पनि हुने गरेको छ । 

राजनीतिको जाँतोमा कसको सपना कतिबेला घुन बन्छ स्वयं सपना देख्नेलाई पनि थाहा हुन छोडेको देखिन्छ । नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना काँधमा सत्ताको जुआ भिरेर प्रचण्डलाई आलीको पल्लो छेउमा उछिट्याए पछि संसदमा प्रतिपक्ष ध्वनी मलिन भएको छ । प्रचण्ड संसदको चकमन्नता तोड्न असफल भैरहेका छन् । बरु उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले ललकार्दै पार्टी प्रवेशमा रोक लगाईएकी पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीलाई उचालेर राजनीतिको तलाउमा तरंग ल्याउने प्रयाशमा देखिन्छन् । यसैपनि उनी उथलपुथल ल्याईरहन चाहन्छन् । शान्त मुद्रा प्रचण्डको ग्रहले रुचाउँदैन । भैंसी पूजा गरेपनि प्रचण्डले नवग्रहको स्वस्तिशान्ती भुलेका छैनन् ।

यसैबीच भदौरे झरीमा काठमाडौंबाट बिराटनगर उत्रिएका प्रचण्डले ओली र भण्डारीको यतिञ्जेल प्रकाशमा नआएको ‘सहमति’ सार्वजनिक गरिदिएका छन् । यसैपनि मनमुटावमा रहेका दुइ नेताबीच अझ फाटो बढाउन प्रचण्डको नयाँ अस्त्र कत्तिको उपयोगी हुनेछ त्यो भविष्यमा देखिँदै जाला । तर ‘उथलपुथल’ को आदत भएका प्रचण्डले नयाँ अस्त्र भने प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको मौका पारेर उनले प्रहार गरेको अस्त्रले एमाले राजनीतिमा कति फरक पार्ला त्यो अहिले नै आँकलन गर्न सम्भव छैन, जबसम्म ओली फर्किएर यसबारे बोल्नेछैनन् ।

यत्ति त प्रष्ट भन्न सकिन्छ, प्रचण्ड सत्ताको हस्तिनापुरमा कुनै न कुनै स्वरुपको शकुनी हुल्न चाहन्छन् र त्यसका लागि उनी गौंडा ढुकेर बसेका छन् । यसैका लागि प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको बिराटनगर पुगेर राजनीतिमा ससानो उथलपुथल त ल्याएको मान्नै पर्छ ।

दशकौं यता नेकपा माओवादी केन्द्रको अध्यक्ष पद अरुलाई हस्तान्तरण गर्न अनिच्छुक प्रचण्डले राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति कमजोर हुनबाट जोगाउन पनि पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन मद्दत पुग्ने भाषा बोल्नुपरेको हुनुपर्छ । पूर्व राष्ट्रपति भण्डारी र प्रचण्डको परस्पर विश्वासको सेतू कत्ति बलियो छ, त्यो त सामान्य नजरले देखिने र बुझिने बिषय भएन । तर प्रचण्डले स्पष्ट शब्दमा भनेका छन्, पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधान र कानुनले रोकेको छैन ।

पूर्वराष्ट्रपति भण्डारी एमाले पार्टीमा सक्रिय हुन सदस्यता नवीकरण गरे पनि साउनको केन्द्रीय कमिटी बैठकले उनको सदस्यता खारेज गरिदिएको थियो। अध्यक्ष ओलीको इच्छा नै पार्टीको निर्णय हुने भएकाले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय छ।

यता प्रचण्डको भनाई छ, ‘विश्वमा धेरै उदाहरण छन्, जो राष्ट्रपति, प्रधानमन्त्री भएपछि पनि राजनीतिमा फर्केका छन्। त्यतिमात्र होइन, राष्ट्रपति मेयर पनि भएका छन्, उनले तीजको चौथीका दिन बिहीबार बिराटनगरमा भने । प्रचण्डका भनाईमा, ‘हाम्रो संविधान र ऐनले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनू भनेको पनि छैन।’

माओवादीले विद्या भण्डारी राष्ट्रपति हुँदा दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुनलाई पार्टीमा सक्रिय गराएर उपाध्यक्षसमेत बनाइसकेको छ। पार्टीभित्र विरोधका बीच अध्यक्ष प्रचण्डले उपराष्ट्रपति भइसकेका पुनलाई पार्टी पदाधिकारी बनाएका थिए।

राष्ट्रपति तथा उपराष्ट्रपति भइसकेकालाई राजनीतिमा आउन मिल्दैन भनेर संविधान, ऐन र कानुनले नभनेको पनि अध्यक्ष प्रचण्डले बताए। 
पूर्व राष्ट्रपति राजनीतिमा फर्कन मिल्दैन भन्ने एमालेको भनाईलाई प्रचण्ड कुतर्क ठान्छन् ।

‘यो कुतर्क मात्रै हो। विद्याजी अहिले सक्रिय राजनीतिमा आउन चाहनुभएको छ। सदस्यता नवीकरण त्यो पार्टीको नेतृत्व केपी ओलीजीकै सहमतिमा नवीकरण भएको हो भन्नेकुरा अब त छर्लङ्ग भएको छ। चीन भ्रमण ओलीकै सहमतिले भएको हो, भोलि गएर अध्यक्ष बनाउने कुरा पनि उहाँहरूका बीचमा पहिला चलेको हो,’ प्रचण्डले रहस्य खोलेर भने, ‘तर पछि चीन भ्रमणमा गएर आएपछि सायद के के भयो उहाँहरूको म त्यता जान चाहन्न अहिले।’

पूर्व राष्ट्रपति भण्डारी गएको जेठ १० मा एमालेका नेताहरूको ठूलै टिमको नेतृत्व गरेर चीन भ्रमणमा गएकी थिइन् ।

चीनमा उनलाई ठूलै मानसम्मान गरिएको समाचारहरु प्रकाशमा आएका थिए । चीनबाट फर्किएपछि उनले बाक्लैसँग राजनीतिक र सामाजिक नेतृत्वहरुसँग भेटघाट बढाएकी थिईन् । अहिले पनि उनले त्यसलाई निरन्तरता दिएकै छिन् ।

भण्डारी चीनबाट फर्किएपछि झस्किएका अध्यक्ष ओलीले उनलाई रोक्न पुरै शक्तिको प्रयोग गरेको देखियो । तर उपाध्यक्ष इश्वर पोखरेल खुलेर ओलीको विपक्षमा र भण्डारीको पक्षमा उभिएपछि एमालेभित्रै अन्योलको बादल मडारिएको देखिन्छ । माओवादी अध्यक्ष प्रचण्ड यही बादलमा मेघ गर्जाएर घनघोर बर्षा गराउन चाहन्छन् भन्ने कुरा बिराटनगरमा उनले स्पष्ट पारिदिएका छन् ।

नेपालको नक्शामा चुच्चो थप्न अथक प्रयत्न गरेका प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रिय महत्वको त छँदैछ, भूराजनीतिका दृष्टिबाट समेत ध्यानयोग्य छ । कुनैबेला परराष्ट्र मन्त्रालयको समेत नेतृत्व गरिसकेका वाकपटु ओली कुटनीतिसँग अपरिचित होलान् भनेर ठान्न पनि सकिँदैन । यो भ्रमण कुटनीतिक दृष्टिबाट मित्रहरुको अहित नहुने र नेपालको हित हुने किसिमले सम्पन्न हुनुपर्छ भन्छन् कुटनीतिका खेलाडीहरु । यसको अर्थ ओली भलिभाँती बुझ्दछन् भन्नेमा शंका छैन । यसमा उनी चिप्लिएनन् भने मात्र स्वदेशमा प्रचण्डको चलखेललाई उछिन्न सक्नेछन् । 

प्रचण्ड त उथलपुथलमा उत्रिसकेका छन् ! (फायल तस्बिर: चीन भ्रमणमा छँदा अतिथि पुस्तिकामा शुभकामना लेख्दै भण्डारी)

प्रतिक्रिया