हैजाको महामारी: १६१ शंकास्पद बिरामी उपचारमा, ७१ संक्रमित भएको पुष्टि

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ । आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् ।

महानगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितहरू वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेका छन् ।

अस्पतालमा उपचाररत  

नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि हस्पिटलमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जना बिरामीको उपचार भइरहेको छ । यस्तै, झाडापखाला र शंकास्पद हैजाका १६१ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार केही बिरामी उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । उनले आत्तिनुपर्ने अवस्था नरहेको र सफा खानेपानी, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य सतर्कता अपनाएर हैजाको जोखिमबाट बच्न सकिने बताए ।

संघ–प्रदेश–स्थानीय तहको संयुक्त प्रयास

हैजा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूले संयुक्त रुपमा अभियान सञ्चालन गरिरहेका छन् । वीरगन्ज महानगरपालिकाले विशेष स्वास्थ्यकर्मी टोली परिचालन गरी संक्रमित क्षेत्रहरूमा नियन्त्रण र रोकथामका गतिविधि अघि बढाएको छ ।

यस्तै, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले नारायणी अस्पतालसहित अन्य स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक स्वास्थ्य सामग्री आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ ।

स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूले नागरिकलाई सचेत रहन, सफा पानी मात्र पिउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
 

प्रतिक्रिया