काठमाडौं । १४ असार, अर्थात् शनिबार राजनीतिक वृत्तमा निकै दिनअघि देखि नै चर्चामा थियो । शनिबारका दिन एउटा राजनीतिक घोषणा हुने ठोकुवा सहित यसदिनलाई व्यग्र प्रतिक्षाको बिषय बनाईएको थियो । दुइ कार्यकाल देशको राष्ट्रपति रहेकी विद्यादेबी भण्डारीले अन्तत एमालेको संगठनमा फर्किएको घोषणा गरिन् र चिरप्रतिक्षित दिनको सन्देश स्पष्ट पारिदिईन् ।
आफ्ना पति एमालेका पूर्व महासचिव मदन कुमार भण्डारीको स्मृति दिवस पारेर विद्याले उनको अधुरो सपना साकार पार्न आफू पार्टीको सक्रिय भूमिकामा फर्किएको प्रस्ट सन्देश दिएकी छन् । यसकारण १४ असार, शनिबारका दिनको महत्व रहेको हो ।
'राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन' भन्ने मदन भण्डारीको भनाई सम्झँदै विद्याले एमालेको राजनीतिमा आफू नेतृत्वदायी भूमिकाको बलियो विकल्प रहेको संकेत पनि गरेकी छन् ।
केही साता अघि चीन भ्रमणमा गएकी विद्यालाई त्यहाँ उच्च महत्वका साथ स्वागत गरिएको थियो । यतिमात्र होइन उनको स्वागतमा जुटेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताले भण्डारीको राजनीतिक भूमिका बढ्नसक्ने र त्यसमा चीनको समर्थन रहने अर्थ लाग्नेगरी प्रशंसा समेत गरेका थिए ।
विद्याको चीन भ्रमण सेरोफेरोमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको एकतामा कसैले असर पार्न नसक्ने भन्दै छटपटी देखाएका थिए । चीन भ्रमण सकेर फर्केपछि विद्याको राजनीतिक भेटघाट र परामर्श बाक्लिन थालेपछि ओलीले चेतावनीका शैलीमा आफ्नो भयग्रस्त भावना अभिव्यक्त गर्न कुनै कसर बाँकी राखेका थिएनन् ।
शनिबार बिहानैदेखि पार्टीका विभिन्न कार्यक्रममा सहभागी रहेका ओलीले 'एमालेको एकतामा कसैले नकारात्मक असर पार्न नसक्ने र एमाले एकढिक्का रहेको' भन्दै हतासा व्यक्त गरिरहेका थिए । अपरान्ह मदन भण्डारी स्मृति सभामा सँगसँगै सहभागी ओली र भण्डारीबीच नरम शैलीमा राजनीतिक व्यंग पनि आदान प्रदान नभएको होइन । यसले के देखाउँछ भने विद्याको एमाले सदस्यता नवीकरणले ओलीको मनमा चिसो प्रवेश गराएको हुनसक्छ । आफ्नो जीवनकालभर अरु कसैले एमालेको नेतृत्वको चाहना नराखे हुन्छ भन्ने कुरा ओलीले पटक पटक सार्वजनिक सभाहरुमा दोहोर्याउँदै नै आएका छन् ।
शनिबार उनकै सामु विद्याले 'म एमाले परिवारको एक सदस्यको रूपमा पुनः पार्टीमा जोडिएको छु' भनेर घोषणा गरिदिएपछि ओलीको रक्तचापमा बदलाव आएन होला भनेर भन्न सकिँदैन ।
त्यही सभामा पनि ओलीले एमाले एकढिक्का रहेको दोहोर्याउन छोडनन्। अझ जोड दिएर ओलीले भने, 'बाहिर जुनसुकै प्रचार भए पनि एमाले मजबुत छ।'
उदाहरण दिएर ओलीले भने, 'अमेरिकी राष्ट्रपति चढ्ने गाडीमा गोली हाने पनि त्यहाँ सवार राष्ट्रपतिलाई थाहै हुँदैन, गाडी आफ्नो लयमा हिँड्छ, एमाले त्यस्तै मजबुत छ। विरोधीहरूले प्रहार गर्छन् तर मजबुतका साथ आफ्नो बाटो हिँड्छ, ।'
कतिपयले एमाले फुट्छ भन्ने सपना देखेको भन्दै उनले 'विद्या भण्डारीले बम पड्काउँनुहुन्छ। यहीँबाट एमाले ध्वस्त हुन सुरू गर्छ भन्ने सपना देखेर बसेका छन्। कुनै बम, बारूद, गोला, केही पड्किने वाला छैन। एमाले एक छ एक रहन्छ, भने ।
विद्याले पनि स्वर्गीय पतिको भनाई स्मरण गर्दै भनिन्, 'जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।'
मदनका यी भनाइलाई आदर्श मानेर आफू समर्पित बनिरहने विद्याले उद्घोष गर्दै भनिन्, 'राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् । मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ ।'
व्यग्र प्रतिक्षित १४ असारले सत्तारुढ रहेको दल एमालेको आन्तरिक राजनीतिमा त गम्भीर तरंग उत्पन्न गरिदिएकै छ । यसले राष्ट्रिय राजनीतिको भावी समीकरणलाई समेत नवीन दृष्टिले रेखांकन गर्न सक्ने आँकलन गरिएको छ ।
एमाले र माओवादी एकीकरणको ओली र प्रचण्डको असफल राजनीतिक प्रयोगबाट देशभित्रका वामपन्थी शक्तिहरुमात्र निराश थिएनन् । नेपालका वामशक्तिहरुलाई एउटै छातामुनी संगठित भएको देख्न चाहने छिमेकी राष्ट्र चीन त्यसलाई पूर्णता दिने प्रयाशमा अवश्य पनि शुभचिन्तक नरहला भन्न सकिँदैन । चीनमा पूर्व राष्ट्रपति भण्डारीको भव्य आतिथ्यले त्यस्तो संकेत गरेको ठान्छन् काठमाडौंका कुटनीतिक विश्लेषकहरु ।
विद्या भण्डारीको राजनीतिक घोषणाले अख्तियारको अभियोगमा परेका एमालेकै पूर्व महासचिव माधव कुमार नेपालको निराश मनमा शीतल बतास चलेको हुनसक्छ । माओवादी अध्यक्ष प्रचण्ड पनि अप्रशन्न होलान् भन्न सकिँदैन । त्यसैगरी ओली अनुशासनको डण्डाको निलडाम बोकेर बसेका नेता र कार्यकर्ताले पनि स्पेन भ्रमण अवधिभरमा आफ्नो भावी रणनीतिका खाका नकोर्लान् भन्न सकिँदैन । जे होस्, विद्याको एमाले सदस्यता नवीकरणले एमाले र नेपालको वामपन्थी राजनीतिमा नवीन ध्रुवीकरणको छालहरु अवश्य पनि उठाउने निश्चित छ ।
पूर्व राष्ट्रपतिले दलीय राजनीतिमा पुन सक्रिय हुनुहुन्छ कि हुँदैन भन्ने बहसको अब कुनै सान्दर्भिकता छैन । विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक रुपमा घोषणा गरेकै क्षण यो प्रश्न असान्दर्भिक भैसकेको छ । तर राज्यकोषको सरसुविधा पनि उपभोग गर्दै दलीय राजनीति गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नको जवाफ भने प्रतिक्षाको बिषय हुनसक्ला ।
प्रतिक्रिया