भारत पाकिस्तान युध्द: राष्ट्र संघले संयम रहन सचेत गरायो

काठमाडौं । संयुक्त राष्ट्रसंघले युध्दमा प्रवेश गरेका देशहरु भारत र पाकिस्तानलाई संयमित रहन सचेत गराएको छ । 

बुधबार रातीदेखि परस्पर आक्रमणमा उत्रिएका दुइ दक्षिण एशियाली छिमेकी भारत र पाकिस्तानलाई औपचारिक रुपमा सचेत गराउँदै महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।

भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेको भन्दै महासचिवका प्रतिनिधि दुजारिकले भने, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’

यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए। उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थिए।

भारत र पाकिस्तान दुवैसँग परमाणु हतियार भण्डारण गरिएको छ भने आफूलाई परम्परागत शत्रु ठान्दछन् ।

कश्मिरको पहलगाममा १५ दिनअघि भएको आतंककारी हमलामा २६ पर्यटकले ज्यान गुमाएका थिए, तीमध्ये एक नेपाली थिए भने अधिकांश भारतीय नागरिक थिए । त्यो घटनामा पाकिस्तानको प्रत्यक्ष संलग्नता रहेको भन्दै भारतले कतिपय कठोर निर्णय गर्दै कडा जवाफ दिने चेतावनी समेत दिएको थियो । 

प्रतिक्रिया