वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा कम्तीमा १२ दर्शनार्थीको मृत्यु

भारतको जम्मू–कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भएको भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। नयाँवर्षको दिन ठूलो सङ्ख्यामा मानिसहरू मन्दिरमा दर्शन गर्न गएका थिए ।

उक्त घटनामा २० जना घाइते भएका बताइएको छ । त्रिकुटा पहाडमा अवस्थित मन्दिरको गर्भगृहबाहिर विवाद भएपछि भागदौड भएको थियो । मन्दिरमा प्रत्येक दिन दशौँ हजार मानिस जान्छन् ।

जम्मू–कश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले समाचार संस्था एएनआईलाई बताएअनुसार विवादका कारण मानिसहरूले एकअर्कालाई धकेल्न थालेपछि भागदौडको अवस्था सिर्जना भएको थियो । बिहान २ः४५ बजे भएको घटनामा १२ जनाको ज्यान गएको उनले पुष्टि गरे । घाइतेहरूलाई उद्धार गरी नरैना अस्पताल लगिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाबाट आफू दुःखित भएको भन्दै शोक व्यक्त गरेका छन् । जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले सामाजिक सञ्जाल ट्विटरमा घटनाप्रति दुखः व्यक्त गर्दै मृतकप्रति समवेदना र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । उपराज्यपाल सिन्हाले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ र घाइतेलाई दुई लाख सहयोग गर्ने बताएका छन्।

उनीहरूको उपचार खर्च पनि मन्दिर सञ्चालक समितिले बेहोर्ने भएको छ । सिन्हाले घटनाको उच्चस्तरीय छानबिनका लागि गृह मन्त्रालयका प्रमुख सचिवको नेतृत्वमा प्रहरी उच्च अधिकारी सम्मिलित छानबिन समिति बनाइने बताएका छन्।

प्रतिक्रिया