‘यस्तो साँढेलाई सिईओ बनायो भने संस्था चल्छ ?'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीविरुद्ध आक्रोश पोखेका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री आलेले रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सिईओ बनाउँदा संस्था चल्न नसक्ने बताएका हुन् ।

उनले रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे । उनले सिईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए ।

उनले भने, ‘यस्तो साँढेलाई सिईओ बनायो भने संस्था चल्छ ? केही कुरा तपाईंहरूका मागका विषयमा छलफलमा हुँदा पनि बोर्ड सदस्यले यस्तो नगरौं संस्था डुब्छ भन्दा आज तपाईँ रिसाउनुभयो जाउँ हिँड्नु रक्सी खान भन्ने उनको चलन रहेछ।’ उनले लण्डनमा कार्यक्रममा जाँदा आफू अपमानित भएकोसमेत बताए ।

उनले भने, ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले । लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने। म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो। म अपमानित भएँ। यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ?’

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए। । उनले आफूले भ्रष्टाचार हुन नदिने बताए । मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे । उनले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।

प्रतिक्रिया