संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर बेन्च सञ्चालन गर्छुः प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा नदिने बताएका छन् । मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अब सर्वोच्च अदालतमा नियमितजस्तै पेसी तोकिने र सुनुवाइ हुने बताएका हुन् ।

अभियानका संयोजक अधिवक्ता शिव अर्यालका अनुसार प्रधानन्यायधीशले आफू संविधान बमोजिम नियुक्त भएकाले संविधान बाहिरबाट दिइने दबाब र आन्दोलनले राजीनामा नदिने बताएका छन् । त्यसक्रममा प्रधानन्यायाधीशले न्यायपालिकामा देखिएको संकटबारे आफू जानकार रहेको बताएका थिए ।

प्रधानन्यायाधीशले भने,‘मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु । न्यायपालिकामा संकट आएको कुराप्रति जानकार छु । संविधानबमोजिम मेरो नियुक्ति भएको हो । संविधानबमोजिम नै बहिर्गमन हुन चाहन्छु ।’

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कात्तिक पहिलो सातादेखि विरोध प्रदर्शन भइरहेको छ । त्यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन् ।


 

प्रतिक्रिया