विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी कोटाबाट विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । चौधरी २२०६ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै अजय चौरसिया २५२२, चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेशकुमार यादव १९५९ मत ल्याएर विजयी भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने
नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ ।

हाल वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ । यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया