दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने जोखिम

काठमाडौँ। नेपालको एकमात्र अन्तर्राष्ट्रिय तहको रंगशाला दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने खतरा बढेपछि अहिले सरोकारवाला निकायहरु जुर्मुराएका छन्।

यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य भनेर एशियाली फुटबल क्लब (एएफसी) ले फिफा विश्वकप छनोटको खेल खेलाउन नमानेपछि सक्रियता ती निकायले सक्रियता देखाएका छन्।

जसको फलस्वरुप बहराइनसँगको ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा भए। अब युएईसँग जुन ६ तारिख (जेठ २४) मा हुँदैछ। त्यसका लागि दशरथ रंगशालाको अनुगमन गर्दा यस पटक पनि चित्त बुझ्दो जवाफ नआएको बुझिएको छ।

जसका कारण युएईसँगको खेल काठमाडौंमा नभइ उतै हुने सम्भावना पनि बढेको छ भने नेपालको दशरथ रंगशालाको स्तर अन्तर्राष्ट्रिय मापदण्डको नभएपछि अन्तर्राष्ट्रिय मान्यता किन नखोस्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्राचार भएपछि अहिले सरोकारवाला निकायहरु चिन्तित देखिएका छन्।

बहराइनसँगको खेल सार्नपर्दा आलोचित बनेको एन्फा फेरि युएईसँगको खेलले दबाबमा आएको छ। एन्फाका महासचिव किरण राईले एफसीबाट पत्र आएको बताउँदै उनीहरुले सोधेका प्रश्नको जवाफ दिने तयारीमा रहेको सुनाए। खास गरेर एफसीले दशरथ रंगशालाको मैदान (पीच), फ्लर्ड लाइट र सुरक्षा व्यवस्थाको विषयमा जानकारी मागेको छ।

सानातिना प्रतियोगिता आयोजना गर्न दिएर दशरथ रंगशाला बिग्रिएको गुनासो छ। तर, सबै दोष एन्फालाई भन्दा पनि रंगशालाको जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि लिनुपर्ने एन्फाकै पदाधिकारीहरु बताउँछन्।

पहिला फुटबल संघको मातहतमा रहेको मैदान अहिले राखेपले आफैं जिम्मा लिएको छ। बहराइनसँगको खेल नेपालमा रद्द भएपछि मैदान राखेपले संरक्षण गरेर खेल्न योग्य बनाउने लक्ष्यका साथ एन्फाबाट खोसेको थियो। पहिला पनि फुटबलका गतिविधिमा मात्रै एन्फाले जिम्मा लिएपनि अन्य प्रयोजनका लागि राखेपको अनुमति अनिवार्य मानिन्छ।

अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा नेपालमा बामेसर्दै गरेको ‘रग्वी’ खेल खेलाएपछि पीचमा समस्या आएको बताइन्छ। यसैगरी, विद्यालयका साना इभेन्टका लागि दैनिक भाडामा लगाउने, सांगीतिक कन्सर्टहरु आयोजना गर्नका लागि अनुमति राखेपले नै दिँदै आएको छ। यसअघि राष्ट्रपति रनिङ सिल्ड पनि यही मैदानमा भएको थियो। जसका कारण अहिले एफसीले सोधेका प्रश्न र समाधानका उपायका साथ सरोकारवाला निकायहरु युवा तथा खेलकुद मन्त्रालय, एन्फा र राखेप अघि बढ्नुपर्ने सरोकारवालाहरुको सुझाव छ।

एफसीले मैदान बाहिरको सुरक्षाको कुरा पनि उठाएको छ। कुनै भवितव्य पर्यो भने प्यारापिटबाट दर्शकहरु कसरी सुरक्षितरुपमा बाहिर निस्कने भन्ने कुराको पनि जवाफ खोजिएको छ।

एफसीले एन्फालाई सोधेको प्रश्नको जवाफ एन्फाले पनि रंगशालाको जिम्मा लिएको निकाय राखेपसँग माग गरेको छ। तर, सुरक्षाको रिपोर्ट अहिलेसम्म नबनाएको र तत्काल दिने सम्भावना नभएको जवाफ एन्फालाई राखेपले दिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गराउने र दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि आज खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीले छलफल गर्न लागेका छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया