हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ। एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा सुरु खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पोडेलले टस जितेर हङकङलाई पहिले ब्याटिङको निम्तो दिए। 

वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलको ओभरसमेत घटाइएको छ। निर्धारित २० ओभरको खेललाई १८ ओभरमा घटाएको हो। यसअघि नेपाली समयअनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेको थियो। 

उक्त प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ। यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो। 

यस खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ। हङकङ भने दोस्रो जितको खोजीमा छ। यसअघि खेलेको दुई खेलमध्ये हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ। 

हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो।(रासस)

प्रतिक्रिया