'देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो'

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्न सुझाव दिएका छन् । बुधबार विज्ञप्ति जारी गरी पौडेलले सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो रहेको बताए । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा उल्लेख छ ।

उनले ६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले अध्यक्ष ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु सर्मपर्ण गरेको ठहर्नेछ । राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु । देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणालीनै सिध्याउन खोजिएको देखिन्छ ।’

प्रतिक्रिया