हरेक टि-ट्वान्टी विश्वकपमा नेपाललाई पुर्याउन चाहन्छुः पुवुदु दशानायके

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुवुदु दशानायके दोस्रो पटक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले यसै साता पुवुदुलाई पुनः मुख्य प्रशिक्षककको जिम्मेवारी दिएको घोषणा गरेको हो । गत भदौमा अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोरले, विश्व क्रिकेट लिग टु अन्तर्गत ओमान टुरपछि पदबाट राजीनामा दिएपछि राष्ट्रिय टिम प्रशिक्षकविहीन थियो । त्यसपछि क्यानले मुख्य प्रशिक्षकमा आवेदन माग गरेको थियो । पुवुदुले पनि मुख्य प्रशिक्षकमा आवेदन दिए र छनोट भए । एसोसिएट राष्ट्रमा पुवुदु सफल प्रशिक्षक मानिन्छन् ।

यसअघि  उनले सन् २०११  देखि २०१५ सम्म नेपाली टिम हेरेका थिए ।  उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्वकपमा डेब्यु गर्यो । जुन नेपालले प्राप्त गरेको अहिलेसम्मको ठूलो सफलता हो । यस्तै नेपालले पुवुदुकै कार्यकालमा विश्व क्रिकेट लिग डिभिजन फोरदेखि एकदिवसीय विश्वकप छनोटसम्मको यात्रा तय गर्यो । हाल एकदिवसीय मान्यता प्राप्त राष्ट्र बनेको नेपालको जग पुवुदुलेनै बसाएका थिए ।

क्यान, आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको निलम्बनमा रहेका बेला उनले अविभावकको भूमिका समेत निवार्ह गरे ।  त्यसबेला क्यानका पदाधिकारीसँग पुवुदुको सम्बन्ध त्यति सुमधुर रहेन । मनमुटावकै कारण पुवुदुले नेपाल छोडेका थिए । फेरि नेपाल फर्किएका पुवुदु सामु चुनौतीका पहाड छन् । केहीले, पुवुदु भन्दा माथिल्लो स्तरको प्रशिक्षक आवश्यक रहेको र उनैलाई फेरि दोहोर्याउनु सही निर्णय नभएको भन्दै क्यानको आलोचना पनि गरेका छन् । अहिले खेलाडी र क्यान बीचको सम्बन्ध राम्रो नभएको, खेलाडी खेलाडी बीचपनि गुट उपगुट  रहेको समाचार आइरहेका छन्  । यस्तोमा पुवुदुले आफूलाई कसरी प्रस्तुत गर्छन् ? हाल क्यानडामानै रहेका पुवुदुसँग गरिएको छोटो कुराकानी प्रस्तुत गरेका छौं। 

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा फेरि नेपाल किन फर्किनु भयो ?
पुवुदु अझै पनि नेपाली क्रिकेटलाई योगदान पुर्याउन सक्छु भन्ने लागेको छ । म एकदमै उत्साहित छु  पुन: नेपाल आउन पाउँदा । नेपाली क्रिकेटको स्तर माथि पुर्यान सक्छु भन्ने आत्मविश्वासका साथ फर्किदै छु । 

तपाइँको नाम अघि सफल प्रशिक्षकको ट्याग छ । नेपाललाई टि-ट्वान्टी विश्वकपसम्म पुर्याइसक्नु भयो । त्यही सफलतालाई कायम राख्दै अघि बढ्न कस्तो चुनौती छ  ?
 पछिल्लो समय एसोसिएट राष्ट्रको क्रिकेट स्तरमा उन्नती भएको छ । यो स्तरलाई भेट्नको लागि खेलाडी पनि  मेहनत गरेर आफ्नो प्रदर्शन सुधार गर्न आवश्यक छ । स्थानीय रुपमा धेरै काम गर्न बाँकी छ ।  

पहिलो कार्यकालमा क्यान  पदाधिकारीसँगकै चिसो सम्बन्धका कारण यहाले नेपाल छोड्नु भएको थियो ? 

अहिले पनि सो बेलाका केही पदाधिकारी क्यानमा छन् । क्यान र मेरो सम्बन्ध अहिले एकदमै राम्रो छ । आउने वर्षहरुमा सँगै मिलेर काम गर्नेछौं । केही त्यस्तो समस्या छैन । खेलाडी बीच पनि राम्रो सम्बन्ध छैन, गुट उपगुट छ भन्ने सुनिन्छ ।  खेलाडी र क्यान बीच पनि राम्रो सम्बन्ध छैन भन्छन् ।

सबैलाई एकै ठाउँमा ल्याउन सक्नु हुन्छ त ? 
मैले पनि खेलाडी र क्यान बीच फरक मत छ भन्ने अलि अलि सुनेको छु । मलाई आशा छ सबै कुरा छिट्टै समाधान हुन्छ । 

नेपाल आएपछि सवैभन्दा पहिले के परिवर्तन गर्न चाहनु हुन्छ ? 
 घरेलु प्रतियोगितामार्फत खेलाडीको स्तर बृद्धिमा जोड दिनुपर्छ । खेलाडीलाई पहिले जस्तो बैदेशिक प्रशिक्षणमा पठाउन सक्ने अवस्था छैन्।  उच्चस्तरीय घरेलु प्रतियोगिताको आयोजना आवश्यक र जरुरी छ ।  त्यसैमा  बढी केन्द्रित हुनुपर्छ ।

अबको लक्ष्य के त ? 
हरेक टि ट्वान्टी विश्वकपमा नेपाललाई पुर्याउन चाहन्छु । एकदिवसीय प्रतियोगिताको तालिकाको शीर्ष  स्थानमा रहनु मेरो अर्को लक्ष्य हो । 
समर्थकहरुलाइ केही भन्न चाहनु हुन्छ  ?
सधै झैं साथ र सहयोग गर्नुहोस् ।  आगाडिका दिन चुनौतीपूर्ण छन् । तपाइँहरुको माया आवश्यक छ । 

पुवुदुको आगमनमा कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने के भन्छन् त ?
ज्ञानेन्द्र मल्ल : पुवुदु सरकोे आगमनमा खुसी छु ।  उहाँले नेपाली क्रिकेटमा पुर्याएको योगदानका बारेमा मैले  धेरै भनिरहन पर्दैन । उहाँलाई र नेपाली क्रिकेटलाई बुझ्ने सबैलाई थाहा नै छ । पुवुदु  सरले नेपाली क्रिकेट  र नेपाली माटोलाई राम्रोसँग बुझ्नु भएको छ । यो टिमलाइ अगाडि बढाएर अर्को स्तरमा पुर्याउनु हुन्छ भन्ने छ । पहिलेको टिमबाट अहिले धेसै खेलाडी छैनन् । जसरी हामीलाई एउटा स्तरमा पुर्याउनु भयो युवा खेलाडीलाई पनि त्यसरीनै डोर्याउनु  होस् भन्ने लागेको छ । क्रिकेट परिवर्तन भइरहेको छ । त्यही अनुरुप पुवुदु सरले पनि काम गर्नु हुन्छ होला । पुवुदु सरसँग मेरो व्यक्तिगत सम्बन्ध पनि राम्रो छ  । एभरेष्ट प्रिमियर लिगमा उहाँ आउँदा पनि मेरो कुरा भएको थियो । 

सन्दीप लामिछाने : हामीले  पुवुदु सरलाई फेरि प्रशिक्षकका रुपमा पाउनु भाग्यको कुरा हो । अर्थात् उहाँ फर्किनुनै ठूलो उपलपब्धि हो जस्तो लाग्छ । उहाको नेतृत्वमा  थप उर्जाका साथ हामीने धेरै काम गर्न सक्छौ । कतिले एसोसिए टिम हेरेको मात्र अनुभव छ भनेर पुवुदु सर आउनुलाई गलत भएको पनि बताएका छन् ।  एसोसिएट र टेष्ट जुन राष्ट्र भने पनि सबैकुरा आइडिया हो । प्रशिक्षकको परसेप्सनमा भर पर्ने कुरा हो ।  स्तर आफैंले सिर्जना गर्ने हो । हामी अहिलेसम्म त्यति  धेरै अगाडि पनि बढिसकेका छैनौं कि प्रशिक्षक यस्तो उस्तो भनेर डिमान्ड गरौं । पुवुदु सरले  एसोसिएट राष्ट्र बारे नजिकबाट बुझ्नु भएको छ । उहाँ प्रशिक्षकमा नियुक्त भएसँगै हामीले फेरि टि ट्वान्टी विश्वकप खेल्ने सपना देख्न सुरु गरिसकेका छौं ।  सन्दीप हाल अस्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् । 

प्रतिक्रिया