क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, सेन्ट्रल कन्ट्रयाक्टमा ३० खेलाडी

काठमाडौँ। नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को खेलाडीहरुको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) सार्वजनिक गरेको छ।

Bigepti 2सम्झौता २०२४ को जनवरी १ बाट लागू भएको हो। केन्द्रीय सम्झौतामा रहने खेलाडीले क्यानबाट मासिक तलब पाउने छन्। गत वर्ष पुरुषतर्फ १८ र महिलातर्फ १३ जनाले मासिक तलब पाउने गरेकोमा यो वर्ष खेलाडीको संख्या बढाइएको छ भने तलबमान पनि वृद्धि गरिएको क्यानले जनाएको छ।

क्यानको बैठकले पुरुषतर्फ ३० जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेटेको छ भने महिलातर्फ १९ जना रहेका छन्। क्यानका अनुसार कप्तान रोहित पौडेल, फास्ट बलरद्वय सोमपाल कामी र करण केसी, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र दुवै ओपनर आसिफ शेख तथा कुशल भुर्तेल ग्रेड एमा रहेका छन्। ग्रेड एमा रहने खेलाडीले मासिक १ लाख रुपैयाँ प्राप्त गर्ने छन्। 

यस्तै ग्रेड बी मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अभिनाश बोहोरा परेका छन्। उनीहरुले मासिक ७० हजार रुपैयाँ पाउने छन्।

ग्रेड सी मा विनोद भण्डारी, अर्जुन साउद, प्रतिश जीसी र सन्दीप जोरा परेका छन्। उनीहरुले मासिक ५५ हजार प्राप्त गर्ने छन्। यस्तै ग्रेड डी मा विन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन्। उनीहरुले मासिक ३५ हजार पाउने छन्।

हरेक प्रदेशबाट एक एक जना खेलाडीलाई इमर्जिङ क्याटागोरीमा समेटिएको छ।  इमर्जिङ क्याटेगोरीमा कोशीबाट दीपेश कँडेल, मधेशबाट रुपेश सिंह, बागमतीबाट रिजन ढकाल, गण्डकीबाट विपिन खत्री, लुमि्बनीबाट देव खनाल, कर्णालीबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्त धामी रहेका छन्। यो क्याटेगोरीमा रहनेहरुले क्यानबाट मासिक २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। सेन्ट्रल कन्ट्रयाक्ट सन् २०२४ को डिसेम्बर लास्ट सम्मका लागि रहेको छ।

यसैगरी महिलातर्फ  इन्दु बर्मा, रुबिना क्षेत्री र सिता रानामगर ग्रेड ए मा रहेका छन्। ए ग्रेडमा रहनेहरुको मासिक तलब ५० हजार रहने छ। ग्रेड बी मा कविता कुँवर मात्र रहेकी छिन्। उनको मासिक ३५ हजार तलब हुने छ। यस्तै, ग्रेड सीमा रहेका पुजा महतो र अस्मिना कर्मचार्यले मासिक ३० हजार हुँदा ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावल रहेका छन्। 

उनीहरुले मासिक २५ हजार प्राप्त गर्ने छन्। यसैगरी महिलातर्फ ८ जनालाई इमर्जिङ क्याटागोरीमा राखेको छ। इमर्जिङ क्याटेगोरीमा रहने सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सिनाका मरासिनी, कञ्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविण रहेकी छन्।उनहिरुले मासिक २० हजार पाउने छन्। 

यसैगरी, क्यानको बैठकले विभिन्न समितिहरु गठन गरेको छ। प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले रहेका छन् भने प्राविधिक समिति संयोजकमा विक्रम विष्टलाई राखिएको छ। त्यस्तै, विकास समिति संयोजकमा धिरेन्द्र सावद रहेका छन् भने महिला क्रिकेट विकास समिति संयोजकमा प्रदीप मजगैयाँ रहेका छन्। 

त्यसैगरी नेपाल ‘ए’ टीमको मुख्य प्रशिक्षकमा पुर्व कप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी कलाम अली, साथै यु–१९ महिला टीम प्रशिक्षकको जिम्मेवारी महेश प्रसाद रिजाललाई दिने निर्णय गरिएको छ।

यस्तै, नेपालको घरेलु क्रिकेट संरचनालाई बलियो बनाउने योजना बमोजिम उमेर समूहको प्रतियोगितामा सहभागी हुने खेलाडिहरुको (यु१९ र यु१६) को उमेर खुल्ने कागजपत्र, विद्यालयको शैक्षिक प्रमाणपत्रको आधारमा तथा अन्य मापदण्ड बनाई उमेर समुहको प्रतियोगितामा सहभागी गराउने वा नगराउने सम्वन्धमा आवश्यक नीति तथा कार्यक्रम तयार गरि कडाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि क्यानले गरेको छ।

नेपालमा आयोजना हुने आइसीसी यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता २०२७ को तयारी स्वरुप मिसन २०२७ अन्तर्गत यु१६ महिला अन्तर स्कुल क्रिकेट ट्यालेन्ट हन्ट एवं प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशहरुमा संचालन गर्ने निर्णय पनि गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया