राजाले पार्टी खोले हुन्छ, व्यापार गरे हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रलाई फेरि शिर उठाउने दुस्साहस नगर्न चेतावनी दिएका हुन् ।

उनले भने,‘१६ वर्षअघि कांग्रेसको महाधिवेशनमा भाग लिएको थिएँ । त्यतिबेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो । लोकतन्त्रको रक्षा कसरी गर्ने भन्ने थियो । आजको संकेत पनि राम्रो छैन । नेपाली राजनीतिको आकाशमा कालो बादल मडारिरहेको छ । फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । त्यस्तो दुस्साहस कसैले नगरुन् । नेपाली जनता फेरि ज्वालामुखीको रुपमा उत्रिनेछन् । राजाले पनि पार्टी खोले हुन्छ, व्यापार गरेर बसे हुन्छ । नेपालको रक्षा नेपाली जनताले गर्न सक्छौं । लोकतन्त्रलाई सुदृढ गर्न सक्छौं । सामाजिक न्याय, समानताको यात्रामा हामी अघि बढ्न सक्नुपर्छ ।’

उनले राजनीतिमा राज्य सत्तामा विकृति रहेको भन्दै त्यसलाई पन्छाउनुपर्ने बताए । उनले विकृतिका बाहकहरुले विकृति फैलाउने र हामी टुलुटुलु हेरेर बस्न नहुने बताए । लोकतन्त्रको मूल्यमान्यतालाई कुल्चने प्रवृत्तिबाट लोकतन्त्रको उपहास भइरहेको भन्दै आपत्ति जनाए । उनले गफ धेरै र काम कम भएको भन्दै अब राजनीतिक दलले काम धेरै र कुरा कम गर्नुपर्ने बताए ।

प्रतिक्रिया