तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

काठमाडौं। फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ। अर्जेन्टिनाले यो खेल १–० गोल अन्तरले जिते पनि मैदान भित्र र बाहिर निकै तनावपूर्ण खेल रह्यो।

ब्राजिल र अर्जेन्टिनाका समर्थकहरुबीच झडपनै भएपछि ब्राजिल प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि लाठी चार्ज गर्दा अर्जेन्टिनाका समर्थहरु घाइते हुन पुगे। जसका कारण खेल नै निर्धारित समयभन्दा २७ मिनेट ढिला गरी सुरु भएको थियो। यसैगरी ब्राजिलका एक खेलाडी रातो कार्ड पाउँदै मैदान पनि छाड्न पुगे। तनावपूर्ण खेलमा गत संस्करणको विश्वकप विजेता अर्जेन्टिनालाई जिताउनका लागि ब्राजिलको ऐतिहासिक मैदान माराकानमा निकोलस ओटामेन्डीले गरेको गोल नै निर्णायक बन्न पुग्यो। उनले खेलको ६३ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

८१ औं मिनेटमा ब्राजिलका जोलिन्टनले रातो कार्ड पाउँदै मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा समेटिएको थियो। तर, त्यसको फाइदा भने अर्जेन्टिनाले उठाउन सकेन।

सन् १९३० मा पहिलो पटक आयोजना भएको विश्वकप फुटवल प्रतियोगिताको महादेशीय छनौट प्रणाली भने १९३३ देखि सुरु भएको थियो। त्यस यता घरेलु मैदानमा कुनै पनि छनौट खेल नहारेको ब्राजिल लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनासँग बुधबार १–० गोल अन्तरले स्तब्ध बन्यो।

यस्तै, अर्को खेलमा पेरु र भेनेजुएलाले भने एक एक गोलको बराबरी खेलेका छन्। भिक्टर योटुनले १७ औं मिनेटमा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए। ५४ औं मिनेटमा जेफरसन साभारिनोले गोल गरेपछि भेनेजुएलाले बराबरी गरेको थियो।

बुधबार बिहानको नतिजापछि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १५ अंकका साथ शीर्ष स्थानमा छ भने उरुग्वे १३ अंकका साथ दोस्रो स्थानमा झरेको छ। उरुग्वे बुधवार शीर्ष स्थानमा रहेको थियो। त्यसैगरी कोलमि्बयाले १२ अंक जोड्दै आफूलाई तेस्रो स्थानमा राख्दा भेनेजुएला ९ अंकका साथ चौथो स्थानमा छ। यस्तै इक्वेडर ८ अंकका साथ पाँचौं स्थानमा रहँदा ब्राजिल भने ७ अंकका साथ छैटौं स्थानमा छ। पाराग्वे, चिली, बोलिभिया र पेरु क्रम सातौंदेखि दशौं स्थानमा छन्।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया