'चितवनमा गैँडालाई थमाइएको एमालेको झण्डा छिट्टै अब बाँदरले बोक्छ'

इनरुवा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको आरोप लगाएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा मंगलबार पार्टीको एक नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताए ।

अहिले एमालेभित्र रहेका नेता कार्यकर्तालाई समस्या भइरहेको भन्दै उनले एमाले नछोडे उनीहरुको समस्या झन् बढ्दै जाने बताए । एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा दिँदै अध्यक्ष नेपालले एमालेको हविगतका कारण पार्टीको झण्डा बोक्ने कार्यकर्तासमेत नहुने ठोकुवा गरे ।

चितवनमा गैँडालाई थमाइएको पार्टीको झण्डा छिट्टै अब बाँदरले बोक्ने दिन समेत आउने उनको भनाइ थियो । ओलीको एमालेभन्दा आफ्नो पार्टी देशभर सुदृढ बन्दै गएको उनले उल्लेख गरे ।

प्रतिक्रिया