कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ। आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। 

मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो।

 समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो। नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन। उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन्। त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो। कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्। त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन।

नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए। नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।  (रासस)

प्रतिक्रिया