क्रिकेट

ज्ञानेन्द्र मल्लको सन्यास घोषणाः एक शालिन खेलाडीको विश्राम

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यास लिने घोषणा गर्दा उनी निकै भावविव्हल बनेका थिए। 

लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक व्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालिन खेलाडी भनेर परिचित छन्। सन् २००५ देखि उमेर समुहको क्रिकेटबाट राष्ट्रिय क्रिकेटको यात्रामा समेटिएका मल्ल यू–१५ टोलीबाट आफ्नो परीक्षा दिएका थिए। 

यू–१७, यू–१९ हुँदै २००६ देखि राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेका मल्लले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध नेपाल राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका थिए। 

पूर्व कप्तान मल्लले राष्ट्रिय टोलीबाट खेल्दा कुनै पनि प्रभावकारी प्रदर्शन गर्न नसके बस्नु उचित नहुने ठानेर सन्यास लिएको बताए। 

उनले भने, ‘मैले राष्ट्रिय टोलीबाट सकेको दिए, तर अब त्यस्तो रिजल्ट दिन सक्छु जस्तो लागेन त्यसैले सक्रिय खेलाडीबाट बाहिरिने निर्णय गरे, क्रिकेटसँग भने कुनै न कुनै रुपमा जोडिरहने छु।’ 

ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन्। 

मैदानमा मात्र नभइ मैदान बाहिर पनि शालिन खेलाडी मानिने मल्लको प्रदर्शन कहिल्यै उत्तारचढावपूर्ण रहेन।  (नेपाल न्यूज बैंक)


 

प्रतिक्रिया