ज्योतिषीका आँखामा प्रधानमन्त्री प्रचण्डको यस्तो छ सत्तायात्रा

कालपुरुषको कुण्डलीमा नेपाल राज्यका स्वामी मंगल अष्टम्भावमा पर्छन् सधैं, तसर्थ आठ आफैंमा अलिकति कष्टकर, गोप्य, गुप्त एवं आध्यात्मिक जागरणकालागि उत्तम ठहर्ने भएको कारण हाम्रो देशमा गोप्य तिर्थस्थलहरू, ध्यान गर्नकालागि उत्तम उर्जाको भूमि, उत्तम कालीगण्डकी एवं कर्णाली जस्ता नदीहरू बगेको देखिन्छ। परापूर्वकालमा धेरै ऋषिमुनिहरूले  आध्यात्मिक दिव्य ज्ञान प्राप्त गरेको महाभारतकालमा किरातेश्वर महादेवबाट अर्जुनले देव्याश्त्र प्राप्त गरेको ठाउँ हो। आध्यात्मिक मार्ग आफैंमा धेरै असाध्य दुर्लभ गुप्त मानिन्छ। तन्त्रको उद्गमस्थल काठमाडौं उपत्यका हो। मन्त्र तन्त्रहरू आफैंमा दुर्लभ, कठिन तप साधनाको विज्ञान हो। जो उपत्यकाका हरेक मन्दिरहरू गुहेश्वरी, किराँतेश्वर महादेव पीठ, पशुपतिनाथ र  भक्तपुरका डोलेश्वर न्यातपः नवदुर्गा, आदि  पीठहरूले देखाँउछन्। तसर्थ अलिकति पनि पाप नसहने मुलुक हो हाम्रो देश।

कालपुरुषको कुण्डलीमा भाव १ मंगलकै घरमा हाल गुरु, युरेनस र राहु गोचर गरिरहेको अवस्था, स्वामी मंगल चतुर्थ भावमा गोचर गरेको अवस्थाका कारण अलिकति भूक्षय, अलिकति देशमा धमिरा लगाउने तत्वहरूको बिषयमा अनेकन समाचार सुन्न पाइने मंगलको दृष्टि सप्तम्भाव जो परराष्ट्र, दुर्ग अथवा सीमाको भावमा पर्दछ। शनि बक्री बनेर कालपुरुषको एघार भावमा बसेका छन् जो उनकै स्वामित्व भावमा पर्नाले जतिसुकै मन्दी विश्वब्यापी रुपमा आएपनि त्यसको त्यत्रो ठूलो असर भने नेपाललाई पर्नेछैन। पश्चिम दिशाको कारक ग्रह शनि  मजबुत हुनाले राष्ट्रिय अर्थतन्त्र  मजबुत बनाउन पश्चिमी मुलुकहरूको भूमिका अब्बल रहनेछ। शनि प्रथम भाव देखिरहेका छन् तसर्थ गुरु राहुको चाण्डालयोग अरु बढी मजबुत हुनाले देश ठग्ने चाण्डालहरूको गोप्यता आफैं खुल्दैजानेमा कुनै शंका छैन। शनिको पंचमभावमा दृष्टि पर्नाले देशमा जातीय हिंसा, धार्मिक युद्ध अराजकता बढ्न सक्छ।

देशको संस्कृति आदिमा खेलबाड गर्नेलाई दण्डाधीश शनिले दण्डित गर्नेछन्। जनताभावमा स्वयंसेवक मंगल बिराजमान भएको र निच भएको कारण अराजकता, जनताका बीच द्वन्द्व एवं मंगलसँग शनि षडाष्टक बनेर दृष्टि शनिमाथि निक्षेप गर्नाले शनि क्रुर बन्ने हुँदा जनताको इच्छापूर्तिमा सरकार कमजोर रहने संभावना रहन्छ। राजनैतिक पार्टीहरू शुद्धीकरण तर्फ लाग्ने भएको कारण द्वन्द्व पार्टी पार्टी बीच आफूआफैंमा नयाँ पुरानामा बढ्न सक्छ। कुनै पुरानो नेताको अवशान पनि निश्चित छ। 

ठेक्कापट्टा बिकास निर्माणका कामको दलाली कमिसन आदि गोप्यता भंग हुनेछ। न्यायालयतिर पनि सुधार हुने अथवा जनताको निम्ति न्यायदिने प्रणालीको बिकास हुनेछ। ठूला राजनीतिक दलहरू आफुूआफैं फुट्न सक्ने, सरकारले दमन गर्नसक्ने संभावनालाई  पनि नकार्न सकिन्न। शनिको बक्रत्वले दण्डहीनता हटाउने कार्य गर्दछ। शनि कार्मिक ग्रह र गुरु। धार्मिक ग्रहसमेत भाद्रबाट बक्री बन्ने हुँदा देशमा नवीन राज्य प्रणालीको विकास हुनसक्छ।

स्मरणीय यो छ कि राजाबाट २०३६ सालमा जनमत संग्रहको घोषणा गराउने पूर्व संध्यामा देशब्यापी विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन हुनु पूर्व सिंहराशीमा गुरु राहुको चाण्डालयोग शनिका साथमा भएको थियो। ई.सं १९३०मा विश्वब्यापी मन्दीको समयमा पनि चाण्डालयोग निर्माण भएको थियोे।

२०४४ सालमा देवताको जग्गा रैतान गरि खाने ऐन आउँदा पनि मेषराशीमा गुरु चाण्डालयोग थियो। सोही कारण मरिचमान सिंह पदबाट हट्ने र राजाको अधिकार छिनिने पृष्ठभूमि बन्न पुगेको थियो। 
स्मरण रहोस, हाम्रा वैदिक धर्म ग्रन्थहरूले शिवश्व, देवश्व, ब्रम्हश्व र राजश्व हरण गर्ने खानेहरूलाई देहाय मुताविक शास्त्रले भनेको छ–

‘प्राप्तेषु आशुरी द्रव्यं दस बर्षाणी च तिष्ठयती
प्राप्तेषु एकादसे बर्षे समुलस्य बिनस्यती।।’ 

यसको अर्थ यसरी पाएको रुपैयाँ धन मात्र ११ बर्ष टिक्छ अन्ततः विनाश हुन्छ भनिएको छ। अनि यस्तो धनले सन्तान आदिको नाश गर्छ भनिएको छ।

राहु मायाकारक ग्रह धर्माधीश गुरूलाई सताएको मात्र छैन कुँभका शनिको भर्टिकल पूर्ण दृष्टि परेको छ। अतः हालसम्म भए गरेका कुनै पनि नकारात्मक गोप्य ठानिएको कार्यलाई शनि र राहुले नसोचेको बेला हठात् बाहिर निकालेर जनमानसमा पुर्यादिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आरद्रा नक्षत्रको जन्म भएको हुँदा नेपालमा हेरिने त्रिभागी दशामा शुक्र र भारतीयहरूले हेर्ने बिंशोत्तरी दशामा केतुको महादशामा केतुको अन्तरदशा गइरहेको छ। लग्नमा मिथुनमा भाग्यभावमा बसेका छन् भने नवांशमा उच्चका मंगलकासाथ भाग्यभावमा मंगलकासाथ बसेका छन्। शुक्र तुलालग्नमा मालव्य योग बनाएर रुचकयोग बनाएका शनिका साथमा छन्। 

दुवैतिरबाट हठात, अकस्मात पद प्राप्ति योग बनाएको देखिन्छ। शनि न्यायप्रिय ग्रह उच्च भएर नवांशमा निचको नभएको भए वहाँ धेरै न्यायप्रिय बन्नुहुने थियो। तथापि नवांशमा निचको भएको कारण भनाइ र गराइमा सामञ्जस्य स्थापित हुन दिँदैन यद्यपि पनि राज्य भावको हंस योग निर्माण गरिरहेको गुरूले आत्मसात गराउँछ कि यो गलत हो। मैले गलत गरिराछु भनेर तसर्थ वहाँ बाध्यबस पनि अरुलाई कार्वाही गर्न तत्पर भएको देखिन्छ। नवांशमा शनि निच हुनु एवं चन्द्रमा केतुको युति नवम् बन्नुको कारण भित्री प्रभाव कसैको पर्दैन यद्यपि देखावटी अभिनय गराउने वहाँको स्वभावमा लग्नस्थ मालव्य योगका कारण थोरै कवि स्वभावका कारण भावुक भने बनाउँछ। मंगल पंचम भावमा कुँभमा शत्रु गृही हुनाको कारण एक छोरा त्यो पनि शोक पर्न गएको अवस्था पनि मिलेको देखिन्छ। नवमांशमा मंगल उच्च भएर हिलियम ग्यासको कारक केतुसँग बस्नाले राज्यसत्ता खोस्नका लागि हतियार उठाउनु स्वभाविक देखिन्छ। 

धर्म प्रति पनि खासगरी हिन्दु प्रति पनि वहाँ आक्रामक हुनुपर्छ। यद्यपि नेटिभ ल्याण्ड प्रति त्यस्तो देखिन्न। हाल गोचरमा तुला लग्नको कारक शनि महाराज पंचम बस्नु, गुरूको दृष्टि पंचम हुनु जसले जति बल गरेपनि वहाँलाई सत्ताबाट फ्याँक्न गार्हाे पर्छ। सेना र पुलिसले वहाँलाई धोखा दिने भन्दा मिलेर कामगर्ने वहाँको कुण्डलीमा देखिनाले अरु प्रधानमन्त्रीहरूको भन्दा यो पक्षचैँ वहाँको सबल देखिन्छ। जनाअभावका मालिक पनि शनि हुन् यद्यपि जनताभावमा गुरूको निच

दृष्टिले जनताको हेर्ने दृष्टिकोण अलि नकारात्मक हुनसक्छ। तैपनि छत्रपती योगका कारण सत्ता वहाँकै वरपरि पेण्डुलम जस्तो घुमिरहने देखिन्छ। सुनफायोग बिद्यमान भएको, शनि न्यायाधीश लग्नबाट पंचम स्वगृही र राशिबाट नवममा बस्नाले पनि भ्रष्टाचारसँग सम्वन्धित बाह्य तथा आन्तरिक दुवैतर्फ  सहयोग  हुने देखिन्छ।

राहु भ्रम उत्पादन गर्ने किसिमका कारक ग्रह भएको र शनिले देखिरहेको हुँदा भ्रष्टाचार गरेको कुराहरू स्वतस्फुर्त सतहमा देखिन्छन्। देखिसके पछि कारवाही अघि बढानु राज्यको कर्तव्यमा पर्छ।

विश्वमा धेरै गर्मी बढ्ने, समुद्रमा पानी उम्लनु, भूकम्प हुनु जस्ता गंभीर घटनाहरू हुनेछन्। सुनको मूल्य बढ्नु, डलर यथास्थितिमा रहनु रियलस्टेट, ठेक्का पट्टाका कारोबार ठप्प जस्तो हुनु, कर्मचारी धान्न नसक्नु जस्ता समस्याहरू प्रवल देखिनेछन्। (ज्योतिषी उदय निरौलाको विश्लेषण)
    
 

प्रतिक्रिया