संसदले आज नयाँ सभामुख पाउने, यस्तो छ मतको अंकगणित

काठमाडौं। नयाँ प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउने छ। नयाँ सभामुख पदका लागि दुइजना उम्मेदवार प्रतिष्पर्धामा छन्, आज निर्वाचन हुँदैछ। नयाँ सत्ता गठबन्धनसँग बहुमत सदस्य रहेकाले नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुख पदमा निर्वाचित हुने लगभग निश्चित जस्तो छ। 
 
एमालेका देवराज घिमिरेसँग विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन्। सभामुखको निर्वाचनका लागि बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा दुवै उम्मेदवारको नाम प्रस्ताव पेस गरिनेछ। 

घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा समर्थकमा प्रकाश ज्वाला छन्। घिमिरे झापा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् भने न्यौपाने कांग्रेसकी समानुपातिक सांसद् हुन्।

घिमिरेलाई सत्ता साझेदार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसद्को साथ छ। यद्यपि सरकारलाई समर्थन गरेपनि जसपा र नागरिक उन्मुक्ति सरकारमा गएका छैनन्। जनमत पनि असन्तुष्ट छ।

प्रतिनिधि सभामा २ सय ७५ जना सांसद् छन्। सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सांसद्को समर्थन चाहिन्छ। अहिलेको सरकारलाई ३ स्वतन्त्रसहित १ सय ६९ सांसद्को समर्थन छ।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्तिका ४ सांसद् छन्। एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसद्को मात्रै मत जोड्दा पनि देवराजले १ सय ४५ मत पाउनेछन्। सभाध्यक्षको भूमिकामा रहेका राप्रपा सांसद् ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत दिन पाउने छैनन्। जसपा, नागरिक उन्मुक्ति र जनमतका सांसद्ले पनि मत दिएमा घिमिरेले १ सय ६७ मत पाउनेछन्।

न्यौपानेलाई कांग्रेससँगै एकीकृत समाजवादी र लोसपाका सांसद्को समर्थन रहनेछ। प्रधानमन्त्रीमा सरकारलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने प्रतिष्पर्धामा उत्रिएको छ। यदि सत्ता साझेदार दलका सांसद्‍बाट फ्लोर क्रस नभए घिमिरेले कांग्रेसका ८९ (टेकबहादुर गुरुङ निलम्बित), एकीकृत समाजवादीका १० र लोसपाका ४ सांसद् गरेर गुरुङबाहेक १ सय २ सांसद्को मत पाउनेछन्।

सरकारलाई विश्वासको मत नदिएका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपामा प्रेम सुवाल भने अनिर्णित छन्। जसले बहुमत पाउँछ उ सभामुखमा निर्वाचित हुनेछ।

प्रतिक्रिया