पर्दाभित्रको राजनीति

संवैधानिक पद बाँड्दा कांग्रेस रिझाउने रणनीतिमा प्रधानमन्त्री

काठमाडौं। केही संवैधानिक पद सहित अरु राजकीय सुविधाका पद बाँडफाँट टुंगिनसकेको र सत्ता साझेदार दलहरुका आआफ्नै अडान यथावत रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल सकसमा परेका छन्।

संवैधानिक पद बाँड्दा पुरानो सत्ता सहयात्री नेपाली कांग्रेसलाई रिझाउने रणनीतिमा प्रधानमन्त्री दाहाल क्रियाशील रहेको जानकार सूत्रले बताएको छ। उनले यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर हरियो संकेत पाएको सूत्रको बुझाई छ।

राष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपराष्ट्रपति, उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्ष जस्ता संवैधानिक पदहरु सत्ता साझेदार दलका आँखा लागेका शक्ति केन्द्रमा पर्छन्। विगतमा संवैधानिक भूमिकाको सीमा अतिक्रमण गरेर ती पदमा आसिन नेताहरुले सहानुभूति रहेका दलहरुलाई सहज हुनेगरी काम गरेकाले सबैजसो दलहरु ती पदहरु हत्याउन चाहन्छन्। राजनीतिक दलमा सक्रिय भूमिकामा रहेकै अवस्थामा राष्ट्रपति, सभामुख र राष्ट्रियसभाको अध्यमा नेता चुन्दाको तीतो अनुभव राजनीतिले गरिसकेको छ।

माओवादी अध्यक्ष दाहाल आफू प्रधानमन्त्री पदमा आसिन भैसकेकाले अरु मुख्य पदहरु आफूलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण योगदान गरेको एमाले र समर्थन गर्ने स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलहरुलाई भाग लाउन वाध्य छन्।

अर्को महत्वपूर्ण पक्ष के छ भने, बहुमत पुग्दापुग्दै पनि आफूलाई मत दिएर समर्थन गरेको नेपाली कांग्रेसलाई प्रधानमन्त्री दाहाल चटक्क विर्सन सकिरहेका छैनन्। यसैपनि कांग्रेसले दाहाललाई दिएको समर्थनप्रति एमाले अध्यक्ष केपीशर्मा ओलीले शंकाको नजर लगाईसकेका छन्। यही कारण दाहाल कांग्रेससँग दूरी बढाउन चाहँदैनन् भन्ने कुरा प्रष्ट छ। लगभग विपक्षविहीन जस्तै बनेको प्रतिनिधिसभामा नेपाली कांग्रेसलाई समेत कुनै एउटा संवैधानिक पदमा आसिन गराउने गुप्त प्रयाश प्रधानमन्त्री दाहालले गरिरहेको जानकारी प्राप्त भएको छ।

यही राजनीतिक सकसवीच प्रधानमन्त्री दाहालले पर्सि माघ ३ गते सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीले शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई बोलाएर उनीहरुसँग आफ्ना बिचार सुनाउँदै  सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका थिए। उनले आज आइतबार सर्वदलीय बैठकको आह्वान गर्ने पनि बताए।

‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु। सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन। अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ,’ प्रधानमन्त्री सम्पादकहरुसँगको भनेका थिए। 

शनिवार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका प्रधानमन्त्री दाहालले दिउँसो केही छानिएका सञ्चार माध्यमका सम्पादकहरूसँग सम्वाद गरेका थिए। उनले प्रधानमन्त्री पदमा टिकिरहन एमाले नै वाध्यकारी मित्र नहुने संकेत दिन चाहेको बुझ्न सकिन्छ। दाहालको भावभंगिमाले यस्तै सन्देश प्रवाह गरेको थियो।

यही माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ।  


 

प्रतिक्रिया