कांग्रेस कथाः अनपढ तुर्सा र विद्यावारिधि मिनेन्द्र

२०४८ को काङ्ग्रेस अधिवेशनमा ‘झापा अधिवेशनको उपलब्धि के पाउनु भो?’ भनेर प्रश्न गर्दा दाङ प्रतिनिधिले ‘तुर्सा हेमरमलाई प्रत्यक्ष देख्न पायौं’ भन्ने जवाफ दिएका थिए!

IMG_20230104_115026यही पौष २० मा तुर्सा हेमरमको २६औं स्मृति दिवसको मेरो उपलब्धि चै उनका सन्तानसँगको प्रत्यक्ष भेट अनि फोटो खिच्ने मौका रह्यो! छोरा लखी हेमरम र छोरी मुखी मुर्मु! छोरा लखी दुरुस्त बाउ जस्तै! छोरा देख्दा स्वयं तुर्सा हेमरम नै भेटे देखेजस्तो अनुभूति भो!

कुराकानीकै क्रममा बुवासँग कुनै दिन हाम्रो घरमा पुगेर खाना समेत खाएको स्मरण सुनाउँदा झन तुर्सा हेमरमसँग प्रत्यक्ष भेट भएको भानमा भावुकता समेत थपियो! गर्व लाग्यो कि कुनै दिन निष्ठाको त्यो धरोहरले हाम्रो आँगन टेकेको थियो!

तुर्सा हेमरमका बारेमा बताउनु जरुरी छैन! बताएर साध्य पनि छैन! बिपिले अदालतमा दिएको बयानमा ‘तुर्सा हेमरमलाई चिन्छु! उनी मेरा प्रजातान्त्रिक आन्दोलनका सहयात्री हुन्’ भन्नु नै काफी छ! तुर्सा हेमरम नाम हैन नेपाली प्रजातान्त्रिक आन्दोलनको किम्वदन्ती हो! काङ्ग्रेस भित्रको कोहिनुर हिरा हुन् उनी!

Fourप्रमुख अतिथि काङ्ग्रेस उपसभापति धनराज गुरुङ रहेको उक्त कार्यक्रममा झण्डै श्रोता बराबरकै संख्यामा आसनग्रहण गर्ने वरिष्ठहरु थिए! काङ्ग्रेस चरित्र नै हो– वडाध्यक्षको हैसियत समेत नभएकालाई चिटको आधारमा केन्द्रिय सदस्य बनाएर आशन दिएपछि भाषण अनिवार्य भैगो! कसैले तुर्सालाई बुझेर बोले! कसैले सुनेर बोले भने कसैले अन्धाले हात्ती छामेझैं बोले! निरीह श्रोताले अन्दाजमा ताली बजाए! आशनग्रहणका लागि बोलाएका मध्ये केही अनुपस्थित थिए! कुनै बडका नेतासँग कतै सेल्फिमा ब्यस्त थिए होला!

खड्ग रायमाझी र सन्तोष रायमाझीको स्वागतगान ‘हेर न शहीदहरुलाई .............’ ले माहोल भावुक बनाएको गीतको बीचमा सन्तोषले फ्रान्सले बिश्वकपमा जिदानलाई बिदा गरेर एम्बापे अगाडि बढाउँदा सफलता पाएकोले काङ्ग्रेसले पनि देउवा बिदा हरेर युवा अघि बढाउनुपर्छ भन्दा देउवा दासहरुको अनुहार र  निचोरेको कागतीमा कुनै भिन्नता थिएन!

तुर्सा हेमरमको प्रतिमामा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रममा ‘तुर्सा हेमरम अब सम्झनामा’ स्मृति ग्रन्थ लोकार्पण गरिएको ग्रन्थ भित्र उनको प्रजातान्त्रिक योगदान सँगसँगै पञ्चायती क्रुरताको वर्णनमा आदिवासी कोटाबाट आफ्नो ५५ बर्षे काङ्ग्रेसी जीवनमा कहिल्यै नाम समेत नसुनेका गैरकाङ्ग्रेस अमृतलाल राजबंसी दुई पटक  काङ्ग्रेस सांसद भएर अहिले एमाले पसि फेरि एमाले सांसद भएको तीतो सत्य ओकलेका छन् काङ्ग्रेस अग्रज पूर्णानन्द शर्माले!

त्यसबापत राजबंसीले अनारमनीको दुई बिगाह जमिनको रकम स्थानीय केन्द्रिय नेतालाई नगदेबालिको रूपमा चढाउनु भएको चर्चा उसबेलै चलेको थियो! त्यही ग्रन्थ भित्र तुर्सालाई संसदीय निर्वाचनमा अनपढ भएकोले टिकट नदिएको र माथिल्लो सदनमा समेत मौका नदिई प्रयोग मात्रै गरेको तीतो यथार्थ गोपाल बस्नेतले उल्लेख गरेको अंश पढ्न पाईन्छ! उसबेला तुर्सा अनपढ भएकाले टिकट नपाउनु र अहिले धेर पढेर डाक्टर समेत भएका टिकट बञ्चित मिनेन्द्र रिजाल, स्वर्णिम वाग्ले, गोबिन्द पोखरेल स्मरण हुँदा काङ्ग्रेस योग्यताको कसिको जरो खोज्न मुस्किल देखियो!

काङ्ग्रेस वरिष्ठको बोल्ने क्रम सुरु भो! बोल्नु भनेको अर्ति दिनु काङ्ग्रेस चरित्रको पदेन बँुंदा पहिल्याउँदै एक वरिष्ठले काङ्ग्रेस दुर्गतिको पोको केन्द्रतिर हुत्याउँदै आफू दुधले स्नान गर्नु भो! जबकि झापा काङ्ग्रेस भित्रको भष्मासुर खोज्दा उनलाई शीर्ष आशन नदिई सुखै छैन! काङ्ग्रेसले पूर्णता पाउँदैन! काङ्ग्रेसभित्र माफिया पस्यो भन्दै गर्दा आफू माफिया सरदार भएको भुसुक्कै बिसिए!

अर्का वरिष्ठले कार्यक्रमको मूल बाटो नै बिर्सिए र खेतको डिल समाउँदै प्रचण्ड हप्काउन थाले! तुर्सा बारे बोल्नु भन्दा बढी काङ्ग्रेस लाचारी वर्णनमा समय बिताए! गन्थनकै बीचमा  ‘संकटग्रस्त काङ्ग्रेस छोडेर पोखरा घुम्न जाने हो?’ भन्दै धनराजतिर धारेहात लाउँदा लैनो पाडो जस्तो  पूर्वको महामन्त्री र सेती किनारमा ‘अपमानित भएर पोखरा आएको’ बिरह गाउने मध्यको महामन्त्रीको सम्झना भो! अत्तो थापेर घुम्न जाने हैन भन्दै उनको दिब्यउपदेशमा  पार्टी भित्रै लड्नुपर्ने अर्ति चैं चाखलाग्दो थियो!

अर्का नवोदित वरिष्ठले काङ्ग्रेस ब्रेकफेल भएको गाडी भन्दै कसरी ड्राइभ गर्ने हो, गर्नुस्! भन्दै ड्राईभिङ्ग सिट केन्द्रलाई नै सुम्पिदिए! काङ्ग्रेसमा स्वघोषित वरिष्ठको कमि हुने कुरै भएन! अर्का वरिष्ठले देउवाको लगांैटी छोप्दै प्रचण्डको घोती तान्नैमा समय बिताए! सबै वरिष्ठले आफुलाई बुद्ध अनि विपक्षीलाई गिद्ध देखे! जो काङ्ग्रेस चरित्रको मूल मन्त्र नै हो!

प्रमुख अतिथि गुरुङले तुर्सा हेमरम प्रति श्रद्धासुमन अर्पण गर्दै कुनै पदमा नपुगे पनि उनको कद काङ्ग्रेसमा उच्च रहेको उल्लेख गर्दै काङ्ग्रेस किचलो र निकम्मा बारे बूढाहरुले बिगारे भनेर धारे हात लाएर बस्नु भन्दा  आफुले आफैंलाई औंला ठड्याउनु पर्ने साथै समस्या दिने मात्र हैन समाधान पनि दिन सक्नुपर्ने भन्दै काङ्ग्रेस सत्ता समीकरणमा अल्झिनु भन्दा संगठन सुदृढीकरणमा लाग्नुपर्ने बताई रहँदा प्रदेशमा मन्त्री हुन तम्सेकाहरुको अनुहार र निचोरेको कागतीको खोस्टो उस्तै देखिन्थ्यो!

Threeतुर्सा हेमरम २६औं स्मृति दिवसको रोचक पक्ष– देउवाको लगौंटी छोप्ने असफल प्रयासमा प्रचण्डको धोती तान्नु अनि आफ्ना खेतबारीमा आश्रय लिएर बसेका निमुखा अधियार संथालका झुपडीमा आगो लाएर खेद्ने वरिष्ठहरुबाटै संथाल उत्थानका प्रवचन सुन्नु! आत्मालोचना गर्ने भनेका प्रमुख अतिथि गुरुङ मात्रै!

जे होस, काङ्ग्रेस भनेको छ्द्मभेषीको समूह सावित गर्दै ३६४ दिन संथाल बेवास्ता गर्ने मात्र हैन बहादुरीपूर्वक खेद्ने अनि हरेक बर्ष पौष २० लाई तुर्सा स्मृति दिवस भन्दै उनको जयगान गाउँदै आफ्नो जातिय  उत्थान प्रवचन सुन्दै निरीहतापूर्वक ताली बजाउने संथाल जातिका लागि पौष २० ऐतिहासिक दिन बन्छ हरेक बर्ष!

यसपटक यसरी नै मनाईयो! गत बर्ष पनि यसरी नै मनाईएको थियो! आउँदो बर्ष पनि संथाल उत्थानका प्रवचन सुन्न पौष २० मा फेरि भेला हुनेछौं! संथाल पतनका हातहरुले तुर्साको प्रतिमामा माल्यार्पण गर्नेछन्! हामी ताली बजाउनेछौं!

भावपूर्ण श्रद्धाञ्जलि काङ्ग्रेस निष्ठा प्रति!
 

प्रतिक्रिया