प्रचण्ड सरकारको लगाम ओलीको हातमा

काठमाडौं। सत्तारुढ दलहरुको गठबन्धनले सरकारको राजनीतिक लगाम एमाले अध्यक्ष केपीशर्मा ओलीको हातमा सुम्पेको छ। एमालेले नेतृत्व गरेको नयाँ सत्ता गठबन्धन सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका भएपनि सरकारलाई नियन्त्रण गर्ने अधिकार ओलीले पाएका छन्।

नेपाली कांग्रेसबाहेकका दलहरु मिलेर बनेको नयाँ सरकारले नीति तथा कार्यक्रम र बजेटको आधार तयार गर्न गृहकार्य थालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजक भनेर एमालेका अध्यक्ष ओलीलाई जिम्मेवारी दिएपछि अब ओली राजनीतिक रुपमा सरकारको अभिभावक भएका छन्।

सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोकिएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन्।

‘न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भएको छ। सत्ता साझेदार दलको प्रमुखको रूपमा हामीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजकका रूपमा अगाडि बढाउने निर्णय भयो,’ लामिछानेले भने, ‘न्यूनतम साझा कार्यक्रम ल्याउन ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक÷एक जना सदस्य पनि पठाउने तयारी छ।’

 नेपाली कांग्रेसबाहेकका सात दलको समर्थन पाएको प्रचण्ड सरकारले प्रतिनिधिसभामा विश्वासको मत पाएपछिमात्र मन्त्रीपरिषद विस्तार गर्ने थाहा भएको छ। 

नयाँ गठबन्धनमा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए। राप्रपाले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने र आफूहरूका सर्त सम्बोधन गर्ने प्रतिबद्धता आउनुपर्ने माग गरिरहेको छ। राप्रपाका अधिकांश नेताले पार्टी सरकारमा सहभागी हुनुपर्ने बताएका छन्। 

अस्ति बुधबार प्रचण्ड निवासको कौसीमा घाम ताप्न पुगेका एमाले अध्यक्ष ओलीले सरकार सञ्चालनमा सहयोग गर्न उच्चतहको राजनीतिक संयन्त्र बनाउनुपर्ने सल्लाह दिएका थिए। सरकारको राजनीतिक कमाण्ड आफ्नो हातमा लिँदा आवश्यक परेका खण्डमा लगाम खिच्न सकिने भएकाले ओलीले संयोजकको भूमिका आफ्नो हातमा लिनेगरी निर्णय गराएका छन्।

आफ्नो नेतृत्वको सरकार असफल पार्न प्रमुख भूमिका निभाएका प्रचण्डलाई एमाले र अरु दलको समर्थन जुटाईदिएर प्रधानमन्त्री बन्न सहयोग गरेका ओलीले राजनीतिक कमाण्ड आफ्नो हातमा लिन हतारिनुको खास अर्थ रहेको राप्रपाका एक केन्द्रीय सदस्यले बताए।
 

प्रतिक्रिया