प्रचण्डको कौसीमा घाम ताप्न पुगे ओली, फेरि नेकपा बनाउने योजना

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि वामपन्थी दलहरुको एकता अभियानमा जुटेका छन्। नेपाल कम्युनिस्ट पार्टी गठन गरेर एकपटक असफल भैसकेका ओली र प्रचण्ड नयाँ सरकारको सहकार्यसँग एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्न सक्रिय भएको थाहा भएको छ।

यसको सुरुवात एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाएर उनको दललाई सरकारमा सहभागी गराउने सहमति भएको बुझिएको छ। 

आकस्मिक रुपमा एमालेको साथ लिएर प्रचण्ड प्रधानमन्त्री बन्न जाँदा आफूलाई धोका दिएको भनेर ठुस्किएका नेपाललाई फकाउन प्रचण्ड उनलाई भेट्न गएका थिए। ओलीसँग सल्लाह गरेर नेपाल फकाउन गएका प्रचण्ड फर्किएपछि ओली खुमलटार पुगेका थिए।

पहिलो पटक खुमलटार छिरेका ओली र प्रचण्डले माधव नेपाल र उपेन्द्र यादवलाई पनि साथ लिएर अघि बढ्ने सल्लाह गरेका छन्। प्रचण्ड निवासको कौसीमा पुसको घाम ताप्दै दुई नेताले मन्त्रीपरिषदलाई पूर्णता दिनेबारेमा पनि परामर्श गरेको जानकार सूत्रले बताएको छ। 

एमाले अध्यक्ष ओली आज बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले ओली खुमलटार पुगेका हुन्। ‘ओली र प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने  विषयमा छलफल भएको’ सूत्रले बताएको छ। 

तत्कालीन नेकपा खेमालाई समेत जोड्ने गरी प्रचण्डले प्रयास थालेका र त्यसैअनुरुप बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले भेटेका थिए। नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताएको छ। प्रचण्ड र ओलीले एकीकृत नेकपा (समाजवादी) का अध्यक्ष माधव नेपाललाई पनि खुमलटार बोलाएका छन्।
 

प्रतिक्रिया