सत्ता संघर्ष: कांग्रेस र एमालेको चेपुवामा पर्दै प्रचण्ड

काठमाडौं। नयाँ सरकार गठन गर्ने बिषय झन्झन् पेचिलो बन्दैजाँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सबैभन्दा बढी संकटमा पर्दै गएका छन्। आफैंलाई प्रधानमन्त्री पद चाहिन्छ भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सघन वार्तामा व्यस्त रहेका प्रचण्ड पछिल्लो वार्ताबाट पनि सन्तुष्ट हुन सकिरहेका छैनन्। प्रधानमन्त्री देउवासँग केहीबेर अघि एक्लाएक्लै वार्तामा बसेका प्रचण्ड निकै तनावमा परेको थाहा भएको छ।

यता देउवा, प्रचण्ड र माधव नेपाल आलोपालो प्रधानमन्त्री बन्नेमा सहमति हुने सम्भावना बढ्दैजाँदा एमालेले गठबन्धन तोड्नेगरी प्रस्ताव अघि सारेको छ। गठबन्धन छोडेर आए सहकार्य गर्न सकिने भनी एमालेले प्रचण्डलाई आश्वासन दिएपछि गठबन्धन दलका नेता तनावमा परेका छन्। तर माओवादी र एकिकृत समाजवादीलाई गठबन्धनबाट बाहिर ल्याएर नेपाली कांग्रेसलाई ससर्त साथ दिने र पार्टी फुटाएको बदला लिने दाउ अध्यक्ष केपी शर्मा ओलीको रहेको देखिन्छ। यसो भएमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बन्न पनि सक्ने एमालेका एक पोलिटव्युरो सदस्यले बताए।

शनिबार मध्यराति भएको एमाले र माओवादीका नेताहरुको छलफलमा गठबन्धन तोडेको घोषणा गरेर आएमा सबै प्रकारका विषयमा छलफल गर्ने तर गठबन्धन तोडेर आउने पूर्व शर्त राखेपछि रातिको बैठक अघि बढेको छैन। 

‘राती हामीसँग कुराकानी भएको छ हामीले भनेका छौं गठबन्धन कायम राखेर एमालेले कुराकानी गर्दै कांगे्रस लगायतको सबै गठबन्धन टुटेको घोषणा गरेर बालकोट आउनुहोस् ओलीलाई मनाउने जिम्मा हाम्रो हो’, छलफलमा सहभागी एमालेका एक नेताले भने। 

शनिबार साँझ बालुवाटारको बैठक असफल भएपछि माओवादीका नेताहरुले एमालेका नेताहरुसँग सम्पर्क गरेका थिए। ‘बालुवाटारबाट हिँडेपछि नै भेटौँ भन्नु भएको थियो तर हामीले केही आन्तरिक छलफल छ ९ बजेतिर भेटौँ भन्यौँ र एमालेको धारणा प्रष्ट राखेका छाँै उहाँहरुले गठबन्धनमा सहभागी छैनौँ अब गठबन्धनबाट सरकार बन्दैन भनेर आए दोस्रो ठूलो दल एमाले हो सबै प्रकारका छलफलमा सहभागी हुनेछौँ’, एमालेका ती नेताको भनाई छ।

नयाँ सरकार गठनका लागि भएका छलफलहरूमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद आफैँले राख्ने अडान झन् कसिलो बनाएपछि माओवादी केन्द्र अब यो गठबन्धनभित्र सहमति नबन्ने निष्कर्षमा पुगेको छ। पहिलो चरणमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने अडानमा रहेका माओवादीका नेताहरू अहिले बस्ने बैठक निर्णायक वा अन्तिम बन्न सक्ने दाबी गरेका छन्। 

माओवादी अध्यक्ष अध्यक्ष प्रचण्ड निकट माओवादीका एक नेताका अनुसार शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सहमति जुट्ने भन्दा असहमति झन् बढ्ने जस्तो देखिएको छ।

ठूलो दलको नेतृत्वमा सरकार बन्ने भएमा एमालेले कांगे्रसलाई विश्वासको मत दिने संभावना रहेको छ। त्यसलाई ख्याल गरेर कांग्रेसले ठूलो दलको रुपमा अघि बढेको भन्दै माओवादीले बैठकमा असन्तुष्टि जनाएको थियो। तर कांग्रेसका नेताहरुले त्यसको प्रतिवाद गरे पनि माओवादीले पत्याएको छैन। नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको १० पुससम्म (आज साँझ ५ बजे) को समय घर्किन लाग्दा सत्ता गठबन्धनमा सहमति जुट्नुभन्दा असहमति झन् बढेको छ। 

संसदमा ३२ सिट लिएर बसेको माओवादीले बार्गेनिङ बढाउँदै जान थालेपछि शनिबार कांग्रेसका नेता पूर्णबहादुर खड्का र रामचन्द्र पौडेल प्रचण्ड निवास खुमलटार पुगे भने दिउँसो बालुवाटारमा गठबन्धनको बैठक राखेर माओवादीलाई सम्झाउने कोसिस हुँदा माओवादीका नेता वर्षमान पुनले शुरुको कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने नत्र गठबन्धन यही यही सकिएको घोषणा गरेका थिए। उनको त्यस्तो भनाइपछि सहमति जुट्नुको साटो असहमति झन् बढ्ने अवस्था देखिएको थियो। 

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने दाबी गर्दै समय घर्किएको बताएका थिए।

तर साँझ माओवादीका नेताहरुले सम्मानजनक सहकार्य गराँै भन्दै प्रस्ताव गरेपछि एमालेका नेताहरु पनि छलफलमा सहभागी त भए गठबन्धन छाडेको घोषणा गरेमा मात्रै औपचारिक बैठक बसेर छलफल गर्ने शर्त अघि सारे। 

माओवादीका नेताहरुले यसअघि पनि एमालेका नेताहरुसँग अनौपचारिक सम्पर्क गरिरहेका थिए। वर्षमान पुन चीनबाट फर्केपछि यो क्रम झन् बढेको थियो। 

‘गठबन्धनमा रहेका शेरबहादुर देउवाले नै त प्रचण्डलाई पहिला प्रधानमन्त्री हुन्न नभने पनि उहाँका नजिक रहेका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्री पदमा सम्झौता हुँदैन भनेपछि हामीले अर्को विकल्प खोज्नु परेको हो’, माओवादीका एक नेताले बताए। 

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद नछाडेको अवस्थामा माओवादी यो गठबन्धनबाट बाहिरिएर एमालेसँग गठबन्धन गर्नेतिर लाग्नु स्वाभाविक भएको ती नेताको दाबी छ। 

गठबन्धन दलहरुवीच सत्ता साझेदारीमा सल्लाह नमिल्दा राष्ट्रपतिले दिएको समयसीमा सकिँदा ठूलो दलको नेताको हैसियतमा नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने निश्चित देखिन्छ।

त्यसपछि भने कांग्रेस र एमाले मिल्छन् कि वामपन्थी दलहरुको गठबन्धन बन्छ स्पष्ट हुनेछ।
 

प्रतिक्रिया