ओलीको दावी- 'नेकपा फुटाउने सर्बोच्च होइन, प्रचण्ड, झलनाथ र माधव नेपाल हुन्'

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग मिलेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीनजना वामपन्थी नेताले फुटाएको आरोप लगाएका छन्। उनले नेकपा सर्वोच्च अदालतले नफुटाएको बताए।

काठमाडौं-प्यूठान सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा अदालतले नभएर पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र झलनाथ खनालहरुले फुटाएको आरोप लगाए।

एमालेलाई सिध्याउने उद्देश्यले नेकपा फुटाउने काम प्रचण्ड र माधवहरुले गरेका ओलीको भनाई छ। उनले एकजुट बनाइसकेको पार्टीलाई प्रचण्ड र माधव समूहले सेटिङबाट फुटाएको बताए।

अध्यक्ष ओलीले भने, 'अदालतले अर्को नाम लिएर दर्ता गर्न आउन भनेको थियो, फुटाएको त थिएन, नाम फेर न भनेको थियो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्कैका नाममा दर्ता भएको हुनाले अर्कै नाम लेउ भनेको थियो, मैले पार्टी एकजुट बनाउन धेरै कोशिस गरेँ, तर पार्टी फुटाउने उद्देश्यले काम भइरहेको थियो त्यसकारण नयाँ नाम लिएर जाने कुरै भएन, पार्टी जसले विभाजन गर्न खोजेका थिए तिनले विभाजन गरे अदालतले होइन, प्रचण्ड, माधव र झलनाथहरूले अलग गरेको हो, पार्टी फुटाएका हो, त्यो एमालेलाई ध्वस्त बनाउने षड्यन्त्र थियो।'

आफूले तत्कालीन नेकपालाई अर्को नाम राखेर जोगाउन कैयौं कोशिस गरेको अध्यक्ष ओलीले बताए। एमालेलाई ध्वस्त बनाउने षड्यन्त्र स्वरुप १९ बुँदे अभियोगपत्र ल्याइएको र त्यहिँबाट एमाले ध्वस्त बनाउने कामको सुरुआत भएको उनले स्मरण गरे। 

आफूले एकता एकीकरणका लागि दिएको बहुमत संख्याको दुरुपयोग गरेर आफूलाई साधारण सदस्यबाट समेत निकाल्ने काम प्रचण्ड र माधव समूहले गरेको अध्यक्ष ओलीले बताए। उनले भने, 'बहुमतका नाममा मलाई त साधारण सदस्यबाट समेत निकालेको तपाइँहरुलाई थाहा होला, जसले पार्टी ध्वस्त भएका ठाउँमा आन्दोलन केही नभएका ठाउँमा सुरु गरेर ल्यायो उसैलाई दुई तिहाइको स्थितिमा पार्टीलाई पुर्‍याएपछि, दुई तिहाइको स्थितिमा प्रभावकारी सरकार चलाएपछि, त्यस्तो बेलामा निष्कासन गर्ने, अत्यन्तै झुटा लाञ्छना र घिनालाग्दा आरोप त्यहाँबाट सुरु गरेका थिए।'

अध्यक्ष ओलीले सत्ता परिवर्तन, सरकार परिवर्तन, पार्टी विभाजन जस्ता सबै षड्यन्त्र एमाले विरुद्ध भएका बताए। एमाले सिध्याइछाड्ने खेल दुई-अढाई बर्षदेखि सुरु भइरहेको र त्यस खेललाई मंसिर ४ को चुनावसम्म समाप्त पारिएको उनेले बताए।

अध्यक्ष ओलीले भने, हामीलाई सिध्याउने योजना असफल बनायौं, हामीले हाम्रो पार्टीको रक्षा मात्रै गरेनौं, हाम्रो पार्टी फेरि पनि नेपालको सर्वाधिक लोकप्रिय पार्टी हो, सर्वाधिक जनताले मन पराएको जनप्रिय पार्टी हो, यो कुरा स्थापित गर्‍यो अरु पार्टी भन्दा बढी मत ल्याएर, यसका लागि नेपाली जनतालाई म धन्यवाद दिन्छु।

प्रतिक्रिया