विश्व कप फाईनल आज

तेस्रोपटक च्याम्पियन बन्न अर्जेन्टिना र फ्रान्स आमनेसामने हुँदै

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज आइतबार राति हुँदैछ । उपाधिका लागि यसअघि दुई–दुई पटकका विजेता अर्जेन्टिना र फ्रान्सबीच लुसिल स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ ।   

यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा छ ।

अर्जेन्टिना र फ्रान्सले सेमिफाइनलमा सहज जित निकालेका थिए । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो ।

अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक २०१८ मा रुस विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो ।  उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया