काठमाडौं। फुटबल विश्वकै सबैभन्दा लोकप्रिय खेल हो, र यसको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको २३औँ संस्करण आज रातिदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। उद्घाटन खेलमा मेक्सिकोले घरेलु मैदान एस्टाडियो एज्टेकामा दक्षिण अफ्रिकाको सामना गर्नेछ।
यसपटकको विश्वकप धेरै अर्थमा ऐतिहासिक छ। पहिलो पटक अमेरिका, मेक्सिको र क्यानडा संयुक्त आयोजक बनेका छन्। साथै, टिम संख्या ३२ बाट बढेर ४८ पुगेको छ, जसले प्रतियोगितालाई अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ। कुल १०४ खेल हुने यस संस्करण ३९ दिनसम्म सञ्चालन हुनेछ। ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट ८ तेस्रो स्थानका टोली नकआउट चरणमा पुग्नेछन्। यसपटक नयाँ रूपमा राउन्ड अफ ३२ पनि समावेश गरिएको छ।
विश्वकपमा उज्वेकिस्तान, जोर्डन, केप भर्डे र कुराकाओले पहिलो पटक सहभागिता जनाउँदैछन्। यस्तै, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, लुका मोडरिच र नेमारजस्ता स्टार खेलाडीहरू फेरि एकपटक विश्वकपको आकर्षण बन्नेछन्।उपाधिका मुख्य दाबेदारमा साविक विजेता अर्जेन्टिना, फ्रान्स, स्पेन, ब्राजिल, इंग्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्स रहेका छन्। तर नयाँ फर्म्याट र कडा प्रतिस्पर्धाका कारण विजेता अनुमान गर्न कठिन देखिएको छ।
विश्वकप विजेताले ट्रफीसँगै ५ करोड अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने प्रतियोगिताको कुल पुरस्कार राशि ६५५ मिलियन अमेरिकी डलर रहनेछ, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो रकम हो। अब विश्वभरका अर्बौँ समर्थकको नजर उत्तर अमेरिकामा केन्द्रित छ, जहाँ फुटबलको नयाँ इतिहास लेखिने तयारी भइरहेको छ। एजेन्सी
प्रतिक्रिया