दक्षिण कोरियाली महिला फुटबल रेफ्रीलाई ‘महिनावारी’ सम्बन्धी अपमानजनक टिप्पणीको आरोपमा सुनुवाइ

सोल, दक्षिण कोरिया। दक्षिण कोरियाकी एक महिला फुटबल रेफ्रीले पूर्व चेल्सी मिडफिल्डर तथा दक्षिण कोरियाली राष्ट्रिय टोलीकी खेलाडी जी सो-युनलाई ‘महिनावारी भएको’ भन्दै अपमानजनक टिप्पणी गरेको आरोपमा अनुशासनात्मक सुनुवाइको सामना गर्नुपर्ने भएको छ।

दक्षिण कोरियाली फुटबल संघ (केएफए) ले शुक्रबार दिएको जानकारीअनुसार उक्त घटनामाथि छानबिनपछि मामला संघको अनुशासन समितिमा पठाइएको हो।

गत महिना महिला घरेलु लिगअन्तर्गत डब्लुके लिगमा जी आबद्ध सुवन एफसी वुमन र सोल सिटी हलबीचको खेलका क्रममा रेफ्रीसँग विवाद भएपछि जीलाई पहेँलो कार्ड देखाइएको थियो। आफ्ना लागि पेनाल्टी माग गर्दै रेफ्रीसँग कुरा गर्न पुगेपछि घटना भएको बताइएको छ।

जीका अनुसार त्यस क्रममा रेफ्रीले भनेकी थिइन्, “सुरुदेखि नै उनी निकै चिडचिडेकी छिन्, सायद उनको महिनावारी भइरहेको होला।”

केएफएका एक अधिकारीले उक्त घटनालाई संघको अनुशासन समितिमा पठाइएको पुष्टि गरे पनि सुनुवाइ कहिले हुनेछ भन्ने जानकारी दिएनन्।

यसअघि केएफएको रेफ्री विभागले भने उक्त टिप्पणीमा ‘महिनावारी’ जनाउने शब्द प्रयोग नभएको र टिप्पणी विशेष रूपमा जी सो(युनप्रति लक्षित नभएको दाबी गरेको थियो। दक्षिण कोरियाली प्रसारक एसबीएसले उक्त विवरण सार्वजनिक गरेको हो।

दक्षिण कोरियाली महिला फुटबल महासंघ (केडब्ल्युएफएफ) का अनुसार रेफ्रीले प्रयोग गरेको शब्द ‘गर्ल्स डे’ थियो, जुन महिनावारीलाई संकेत गर्न प्रयोग गरिने अप्रत्यक्ष शब्द हो।

जीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै रेफ्री तथा खेल अधिकारीहरूले प्रयोग गर्ने सञ्चार प्रणालीमार्फत आफूले उक्त टिप्पणी सुनेको बताएकी छन्। केएफएले आफ्नो रेफ्री परिषद्ले “आरोपको गम्भीरतालाई स्वीकार गर्दै” घटनालाई अनुशासन समितिमा पठाउने निर्णय गरेको जनाएको छ। (एएफपी)


 

प्रतिक्रिया